विराटनगरलाई कर्णालीले दियो १६१ रनको लक्ष्य

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी रोमाञ्चक डे–नाइट खेलमा कर्णाली याक्सले विराटनगर किंग्ससामु जितका लागि १ सय ६१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६० रनको योगफल तयार पारेको हो।

कर्णालीको इनिङ्स उकास्न ओपनर प्रियांक पान्चलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। उनले ४७ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। जारी सिजनमा पान्चलको यो दोस्रो अर्धशतक होस यसअघि उनले चितवनविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए।

त्यस्तै, अर्का विदेशी खेलाडी अष्ट्रेलियन ब्याटर विलियम बोसिस्टोले संयमित ब्याटिङ गर्दै अविजित ४८ रनको महत्त्वपूर्ण योगदान गरे। उनले ४८ बल खेल्दै २ चौका प्रहार गरेर इनिङ्सलाई अन्त्यसम्म सम्हाले।

अन्य ब्याटरहरूमा गुल्सन झाले २० रन जोड्दा नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे। ओपनर मार्क वाट भने ६ रनमै पेभेलियन फर्किएका थिए।

बलिङतर्फ विराटनगर किंग्सका लागि कप्तान सन्दीप लामिछाने र तीव्र गतिका बलर मर्चेन्ट डे लाङले कसिलो बलिङ गर्दै एक–एक विकेट लिन सफल भए।

अब १६१ रनको विजय लक्ष्यसहित विराटनगर किंग्सले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। यो खेल जित्नका लागि विराटनगरले ८ रन प्रति ओभरको हाराहारीमा रन जोड्नुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *