७ महिनामा १३ जना कैदीबन्दीले गुमाए ज्यान

विराटनगर। जिल्ला कारागार मोरङमा कैदीबन्दी तथा थुनुवाको मृत्युदर चिन्ताजनक रूपमा बढेको छ। गत वैशाखयता मात्रै विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका वा पुर्पक्षका लागि थुनामा रहेका १ जना महिलासहित १३ जनाको मृत्यु भइसकेको छ।

मृत्युको सिलसिला यसरी बढिरहँदा पनि यसको मुख्य कारण पत्ता लगाई उचित व्यवस्थापनमा राज्यले ध्यान दिन सकिरहेको छैन।

मोरङ कारागारमा बिहीबार एकै दिन दुई जना कैदीको मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार मृतक दुवै जना अदालतबाट दोषी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका कैदी हुन्।

मृत्यु हुनेमा मोरङको बेलबारी घर भएका ४७ वर्षीय तेजबहादुर राई छन्। जंगली हात्ती मारेको कसुरमा अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि उनी सजाय भुक्तान गरिरहेका थिए। श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि मंसिर १० गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको जेलर गौरव ढुंगेलले बताए।

यस्तै, बिहीबारै पथरीशनिश्चरेका ६६ वर्षीय हर्कजंग लिम्बूको पनि मृत्यु भयो। कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय पाएका लिम्बूलाई अचानक शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएपछि कात्तिक ४ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो। उनको पनि उपचारकै क्रममा मृत्यु भयो।

कारागार प्रशासनका अनुसार वैशाखयता मृत्यु भएका १३ जनामध्ये ५ जना थुनुवा र ८ जना कैदीबन्दी छन्। यीमध्ये अधिकांशको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो। जेलर ढुंगेलका अनुसार, मंसिर महिनाको दोस्रो साता नहुँदै ३ जनाको मृत्यु भइसकेको छ। असारमा पनि ३ जनाले ज्यान गुमाएका थिए।

मोरङ कारागारमा कैदीबन्दी र थुनुवाले निरन्तर ज्यान गुमाइरहँदा पनि त्यसको कारण पत्ता लगाएर उनीहरूको उचित व्यवस्थापन, स्वास्थ्य हेरचाह र कारागारको भीडभाड कम गर्नेतर्फ राज्य उदासीन देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *