नामसालिङ्ग माविको हीरक जयन्ती, पूर्वविद्यार्थीको ऐतिहासिक भेला
आफू कक्षा १ देखि १० सम्म पढेर एस.एल.सी. उत्तीर्ण गरेको नामसालिङ्ग माध्यमिक विद्यालय इलामले आयोजना गरेको हीरक जयन्ती जिल्लाकै पहिलो कार्यक्रम बनेको सुन्दा ज्यादै खुसी लागेको छ। गौरव महसुस भएको छ। राणा शासनकाल अर्थात् २००७ सालअगावै खुलेका नामसालिङ्ग मावि सहितका ३ विद्यालयमध्ये कतै पनि हीरक जयन्ती मनाइएको रहेनछ। यस अर्थमा नामसालिङ्गको यो कार्यक्रम जिल्लाकै पहिलो बन्नु हामी पूर्वविद्यार्थीका लागि गर्वको विषय हो।
जनसहभागिता र भावनात्मक मिलन

कार्तिक २६ देखि २९ गतेसम्म लगातार चार दिनसम्म नामसालिङ्गका स्थानीय बासिन्दा, अभिभावक र सबै समुदायको सक्रिय सहभागिता, उत्साह र उमङ्गमा कार्यक्रम सम्पन्न हुनु विशेष प्रशंसनीय पक्ष रह्यो। खेतीपाती थन्क्याउने व्यस्त समय, केही दिनअघिसम्मको अधिक वर्षात र विपत्तिले थिलथिलो पारेका पीडितहरू पनि घरमा परिवारका सदस्यहरूबीच आलोपालो गरेर दैनिक सहभागी हुनु सामान्य कुरा थिएन।
जसलाई सम्मान, सम्बोधन, आसनग्रहण, दान र योगदानको चर्चा, विशेषणका फुर्का थपिएको प्रशंसा, कदर, फूलमाला, आरामदायी बसोबासको प्रबन्ध, मञ्चबाट मन्तव्य वा प्रस्तुति आदित्यादिको कुनै अभिलाषा थिएन; उहाँहरू आफ्ना गुरुहरू, अग्रज दाजुदिदीहरू, बालसखाहरू र अनुजहरूलाई भेटेर प्रफुल्लित हुनुभयो।
विद्यालयलाई माया गर्ने श्रद्धेय व्यक्तित्वहरू

विद्यालयलाई आफ्नो श्रीसम्पत्ति दिएर सबैका छोराछोरीलाई शिक्षाको ज्योति छर्न अमूल्य योगदान दिने निःस्वार्थ समाजसेवीहरू, त्यस्ता ऐतिहासिक व्यक्ति र परिवारका सदस्यहरूको उपस्थिति, जसले विद्यालयलाई फेरि माया गरेर अझै केही दिऊँ, अझै सकेको केही गरूँ भनेर टाढाटाढाबाट सपरिवार आए, त्यसले कार्यक्रमलाई अझ गहकिलो र चहकिलो बनायो। अहिलेसम्मका हेडसरहरूको लस्करै उपस्थितिले विद्यालयले फेरि अभिभावकत्व पाएको महसुस भयो।
यो कार्यक्रममा घरको तजबीज जसोतसो मिलाएर धन्न आइएछ भनेर धेरैजना खुसी देखिनुहुन्थ्यो। त्यस्तो खुसी खोजेर जहाँसुकै कहाँ भेटिन्छ र! आफूले पढेको र स्याहारसुसार गरेको विद्यालयको रूपान्तरित स्वरूपले पनि हर्ष बढाएको थियो।
महत्वपूर्ण अवसर
आखिर मानिस परिस्थितिको दास न हो, उपस्थित हुन नसकेकोमा कतिपयले आफू दुःखी भएको भाव टाढैबाट सामाजिक सञ्जालमा लेखेर अनि कार्यक्रम सफलताको शुभकामना दिएर विद्यालयले आफूलाई लगाएको ऋणबाट मुक्त हुन खोजेको पाइयो। यद्यपि, व्यक्तिगत अभिलाषा बोकेर आउनुभएका कतिपयको दुःखित भएर फर्केको भावना यदाकदा प्रकट भयो, यो दुःखकै कुरा हो।
हीरक महोत्सवको उमङ्गमा रमाउने यो पुस्ताका हामीहरूमध्ये धेरैलाई शतवार्षिकी महोत्सव देख्न नजुर्न सक्छ। देख्न जुरेपनि धेरैलाई उमेर र स्वास्थ्यकै कारण रमाउन नजुर्ला। फुर्सद र सहज अवस्थामा पनि हीरक महोत्सवमा सहभागी हुन कसैले रुचाउनु भएन भने जोकोही भए पनि जीवनको ऐतिहासिक अवसर गुमाउनुभयो, फेरि पाउनुहुन्न भन्दा बढी नहोला।
शैक्षिक मार्गचित्र र दीर्घकालीन योजना

मनोरञ्जनात्मक र भावनात्मक खुराकसँगै विद्यालयको शैक्षिक स्तरोन्नतिको मार्गचित्र कोर्ने प्रयास भएको छ, तथापि पूर्ण र स्पष्ट ढङ्गले अगाडि आउन अझै केही समय लाग्ला। पूर्वविद्यार्थी समाजले स्थापनाको छोटो अवधिमा ल्याएको अवधारणा खारिँदै जाँदा सुस्पष्ट योजना बन्नेमा आशा गर्न सकिन्छ।
विद्यालयको ऐतिहासिक दस्तावेज हीरक जयन्ती विशेषाङ्क प्रकाशन, श्रव्यदृश्य सामग्री उत्पादन र ज्यादै उपयुक्त स्थानमा हीरक जयन्ती स्मारक बन्नु अत्यन्त सकारात्मक छ। विद्यालय स्थापनाकालको पुरानो भवनलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना (अवधारणा) आउनु अत्यन्तै गौरवको विषय हो। यो योजना बनेपछि त्यसले एक दिन मूर्त रूप अवश्य लिनेछ।
पुरानो भवन सङ्ग्रहालय बनाउँदा त्यससँगै स्तम्भ पनि घेराबाराभित्र पर्ने हुँदा संरचना सुरक्षित रहन्छ, जसलाई भविष्यमा सर्वसाधारण सबैले अवलोकन गर्न सक्ने तर छुन चलाउन नपाउने ऐतिहासिक/पुरातात्विक संरक्षित संरचना को रूपमा विकास गर्न सकिने दीर्घकालीन सोच राखेरै निर्माण गरेको आकलन गर्न सकिन्छ।
अहिले जे बन्यो, जुन रफ्तारमा बन्यो, जुन जोश, जाँगर र उत्साह सिर्जना भएको छ, त्यसको श्रेय यस विद्यालयको हीरक जयन्ती र यसलाई सफल पार्न सानोठूलो, प्रत्यक्ष अप्रत्यक्ष, भौतिक अभौतिक जस्तोसुकै भए पनि योगदान पुर्याउनुहुने शुभेच्छुक अनि आयोजक परिवारलाई जान्छ। नामसालिङ्ग माविको गौरवशाली हीरक जयन्ती कार्यक्रममा सहभागी भई खुसी साटासाट गर्ने अवसर जीवनकै रोमाञ्चक बन्यो।
