दल दर्ताको म्याद ४ दिन थप, कुन-कुन दल मिले ?
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय थप गरेको छ । दलहरूबाट समय अपुग भएको गुनासो आएपछि आयोगले मंसिर १४ गतेसम्मका लागि म्याद थप गरेको हो ।
यसअघि आयोगले दल दर्ताका लागि आज (बुधबार) सम्मको समय तोकेको थियो । निर्वाचन आयोगका अनुसार बुधबारसम्म १०६ वटा दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन् । आयोगको रेकर्डमा हाल १३७ वटा दल दर्ता रहेका छन् ।
विशेषगरी ‘जेन-जी आन्दोलन’ पछि दर्ता प्रक्रियामा आएका नयाँ दलहरूमध्ये १८ वटा दलले आवश्यक प्रक्रिया पूरा गर्न नसकेको आयोगले जनाएको छ । प्रक्रिया पूरा गरी दल दर्ताको प्रमाणपत्र लिएपछि मात्रै निर्वाचन प्रयोजनका लागि दर्ता गर्न सकिने प्रावधान छ ।
मोर्चाबन्दी र एकल चुनाव चिन्हको अभ्यास
यसपटकको निर्वाचनमा साना तथा मझौला दलहरूले मोर्चाबन्दी गर्दै एकल चुनाव चिन्ह लिएर मैदानमा उत्रिने तयारी गरेका छन् ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति नेपालबीच चुनावी तालमेल भएको छ । यी तीन दलले ‘उन्मुक्तिको जाँतो’ चिन्ह लिएर एकल रूपमा निर्वाचनमा जाने निर्णय गरेका छन् ।
त्यसैगरी, खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ र ‘उज्यालो नेपाल’ बीच पनि सहकार्य भएको छ । उनीहरू ‘बलेको चिम’ चिन्ह लिएर चुनावमा जाने भएका छन् । यसबाहेक नेपाल संघीय समाजवादी, बहुजन एकता र नेपाल जनजाती पार्टीले पनि एकल चुनाव चिन्हमा निर्वाचन लड्ने गरी आयोगमा निवेदन दिएका छन् ।
आयोगले अब निर्वाचनमा भाग लिन दर्ता भएका दलहरूको कागजात अध्ययन तथा छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ ।
