विदेश पठाइदिने भन्दै ठग्दै, ३ जना पक्राउ
सांकेतिक तस्बिर
काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरी सम्पर्कविहीन भएका तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक घर भएका अमृत तामाङ, विशाल बज्राचार्य र लमजुङ घर भएका पुड्के तामाङ रहेका छन्।
पक्राउ परेकामध्ये अमृतले बुल्गेरिया पठाइदिन्छु भन्दै एक पीडितबाट सात लाख ५० हजार रुपैयाँ, विशालले अमेरिका पठाइदिने प्रलोभनमा चार लाख ४७ हजार ५ सय रुपैयाँ र पुड्केले अल्बानिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अमृतलाई सोमबार तथा विशाल र पुड्केलाई मंगलबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूमाथि वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
