कोशीमा थपिए १ लाख ५७ हजार नयाँ मतदाता
विराटनगर। निर्वाचन आयोगले पछिल्लो पटक गरेको मतदाता नामावली सङ्कलनमा कोशी प्रदेशमा १ लाख ५७ हजार ६ सय १३ नयाँ मतदाता थपिएका छन्।
असोज १० देखि मंसिर ५ गतेसम्मको अवधिमा कोशीका १४ जिल्लामा यो संख्यामा नयाँ मतदाताको नाम दर्ता भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
नयाँ थपिएका मतदातामध्ये कार्यालयमै पुगेर फोटोसहितको नामावली दर्ता गर्नेको संख्या ५८ हजार ९ सय २५ छ भने बाँकी ९८ हजार ६ सय ८८ मतदाता राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा थपिएका हुन्। यसअघि, कोशी प्रदेशमा कुल मतदाताको संख्या ३४ लाख ३३ हजार ९ सय थियो।
सबैभन्दा बढी नयाँ मतदाता थपिने जिल्लाहरूमा मोरङबाट ४४ हजार ४०२, झापाबाट ३५ हजार ३ सय १९, र सुनसरीबाट ३२ हजार ३ सय ८२ जना रहेका छन्। अन्य पहाडी जिल्लाहरूमा पनि उल्लेख्य संख्यामा मतदाता थपिएका छन्।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन का लागि यी नयाँ मतदातालाई समावेश गर्न नामावली सङ्कलन गरेको हो। हाल सङ्कलन भएका विवरणहरूको अद्यावधिक गर्ने, दोहोरिएका नाम हटाउने तथा त्रुटि सच्याउने कार्य भइरहेको आयोगले जनाएको छ।
