लुटेको हतियार किनबेच गर्ने इलाम र झापाका ३ जना पक्राउ
विराटनगर। जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट हतियार लुटेर भागेका ३ जना झापा र इलाममा पक्राउ परेका छन्।
कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाटको घटनामा संलग्नहरु पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीको साथबाट लुटिएका २ थान चाइनिज पेस्तोल (टाइप–५४ पेस्तोल) र २० राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ पर्नेमध्ये १ जना नेपाली कांग्रेसका नेता विश्वदीप लिङ्देनका छोरासमेत छन्। विश्वदीप लिङ्देन २०६४ सालमा माओवादीबाट विजयी बनेका संविधानसभा सदस्यसमेत हुन्।
प्रहरीले सुरुमा हतियार लुटेर भागेकामध्ये झापाको दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले दमक–८ स्थित एभरेस्ट बोर्डिङ स्कुल छेउबाट सोमबार राति उनलाई पक्राउ गरेको थियो ।
पुरी पक्राउ परेपछि प्रहरीले टाइप–५४ पेस्तोल, त्यसको म्याग्जिन र १५ राउण्ड गोली बरामद गरेको थियो। उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेर सोधपुछ गर्दा उक्त हतियार दमक–६ प्रशान्ति टोलका २९ वर्षीय विश्व लिङ्देनकहाँ राखेको बताए।
त्यसकै आधारमा प्रहरीले विश्व लिङ्देनलाई घरबाटै पक्राउ गर्यो । विश्व नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्। थप सोधपुछमा विश्व लिङ्देनले आफूले सरोज पुरीमार्फत प्राप्त पेस्तोल इलामको चुलाचुली गाउँपालिका–४ आइतबारेका ३० वर्षीय पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको खुलाए।
उनको बयानपछि लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय दमककको संयुक्त टोली इलाम पुगेको थियो । त्यहाँ हाङसुङ्वाको बारीमा खाल्डो खनेर रातो प्लास्टिकको झोलामा लुकाइ राखेको ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल बरामद भयो। त्यसलगत्तै उनलाई पनि प्रहरीले पक्राउ गर्यो
बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र तीनै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।
