नयाँ नेतृत्वसहित कांग्रेस चुनावमा जान्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा पार्टीले नयाँ नेतृत्व र नयाँ सभापतिको हस्ताक्षरसहित भाग लिने दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले निर्वाचन अगाडि नै पार्टीको विशेष महाधिवेशन हुने र नेतृत्व परिवर्तन गरिने स्पष्ट पारेका हुन्।
पछिल्लो समय पार्टीभित्र निर्वाचनमा कसको नेतृत्व र हस्ताक्षर चल्ने भन्ने विषयमा कार्यकर्तामाझ अन्योल सिर्जना भएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ’ महामन्त्री थापाले बिहानैदेखि धेरै शुभेच्छुक तथा कार्यकर्ताहरूले ‘पार्टीले वर्तमान सभापति (शेरबहादुर देउवा) कै हस्ताक्षरमा चुनाव लड्ने हो ?’ भनी प्रश्न गरेको उल्लेख गरेका छन्। उक्त प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, “मैले भनें– होइन।”
उनले पार्टीको आगामी कार्ययोजनाबारे प्रस्ट पार्दै भनेका छन्:
विधान बमोजिम तोकिएको समयभित्रै कांग्रेसको विशेष महाधिवेशन हुनेछ।
सोही महाधिवेशनबाट नयाँ सभापतिको निर्वाचन हुनेछ।
नयाँ नेतृत्व चयन भएसँगै निर्वाचन आयोगमा रहेको पुरानो निर्णय सच्याइनेछ।
अन्ततः नयाँ नीति र नयाँ नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा होमिन छ।
‘अलमलमा नपरौँ’ महामन्त्री थापाले निर्वाचन अघि महाधिवेशन अपरिहार्य रहेको बताउँदै अब विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरेका छन्। “यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको,” थापाले लेखेका छन्, “कुरा स्पष्ट छ, कोही पनि अलमलमा नपरौँ।”
आगामी निर्वाचनको मिति घोषणा भएसँगै कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहसले तीव्रता पाएको बेला महामन्त्री थापाको यो भनाइले पार्टीको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ।

