विवाहपञ्चमी : जनकपुरधाममा माछामासु र मदिरा बिक्रीमा रोक

जनकपुर । विवाहपञ्चमी महामहोत्सवका अवसरमा जनकपुरधाममा आज (आइतबार) देखि तीन दिनका लागि माछामासु र मदिरा बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण रूपमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर ७ गते राति १२ बजेदेखि मंसिर १० गते राति १२ बजेसम्मका लागि उक्त निषेधको आदेश जारी गरिएको हो।

सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा विवाहपञ्चमी मनाउने उद्देश्यले सरोकारवालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम यो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिए।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री–वितरण, पशुपक्षी मारकाट, माछामासु बिक्री–वितरण, उत्पादन लगायत अन्य नसालु पदार्थको सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको उल्लेख छ।

सूचना विपरीत निषेधित क्षेत्रमा कार्य गरिएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरा पनि उल्लेख गरिएको छ। सहायक प्रजिअ दाहालका अनुसार, मिथिलाको सांस्कृतिक, धार्मिक र पौराणिक पर्व रामजानकी विवाह महोत्सवलाई लक्षित गरी यो निर्णय गरिएको हो।

यसैबीच, महोत्सवमा कुनै अप्रिय घटना हुन नदिन तथा शान्तिसुरक्षा प्रभावकारी बनाउन जनकपुरधाम क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *