सर्वोच्च अदालतको आदेश, ‘दुर्गा प्रसाईंलाई थुनामुक्त गर’
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। अभिव्यक्तिलाई लिएर मात्र पक्राउ गरिनु संविधानप्रदत्त स्वतन्त्रताको स्वेच्छाचारी उल्लङ्घन भएको सर्वोच्चको ठहर छ। आइतबार न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि यो विषयमाथि न्यायिक बहस सुरु भएको थियो।सर्वोच्च अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ, “अभिव्यक्तिलाई लिएर मात्र प्रसाईंलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुनेछ।” यस आदेशले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको महत्त्वलाई पुनः स्थापित गरेको छ।
प्रसाईंले आज (मंसिर ७) आन्दोलन गर्ने कार्यक्रम थियो। तर, शनिबार नै सरकार र प्रसाईं पक्षबीच आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको थियो। यो सहमति लगत्तै सर्वोच्चको आदेश आएको हो।
