अग्रज स्रष्टाहरूलाई विराटनगरमा सम्मान

विराटनगर । नेपाली साहित्याकाशका ख्यातिप्राप्त व्यक्तित्व श्रीओम श्रेष्ठ ‘रोदन’ र ९५ वर्षको उमेरसम्म पनि साहित्य, संस्कृति तथा समाज सेवामा अनवरत लागिपरेका व्यक्तित्व केशवप्रसाद रेग्मीलाई विराटनगरमा सम्मान गरिएको छ।

खोटाङ सामाजिक सेवा मञ्च, केन्द्रीय कार्यालय, विराटनगरको भाषा, साहित्य, कला उन्नयन उपसमितिले नियमित रचना वाचन कार्यक्रमको ४४औँ शृङ्खलाको अवसरमा माला, खादा र दोसल्ला ओढाएर सम्मान गरेको हो।

वरिष्ठ साहित्यकार बाबुराम पोखरेलले सम्मानित स्रष्टाहरूको योगदानको चर्चा गर्दै श्रेष्ठले कविता, निबन्ध, लघुकथा, नाटक लगायत दुई दर्जनभन्दा बढी कृतिहरूका साथै ‘मधुपर्क’ जस्ता दर्जनौँ पत्रपत्रिकाको सम्पादनमार्फत भाषा र कला क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर गरिएको बताए।

उनले अर्का सम्मानित व्यक्तित्व रेग्मीले खोटाङमा जन्मिएर गुल्मीमा शिक्षाको विकास तथा तराईका जिल्लाहरूमा सामाजिक रूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सह्राहना गरे।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने र विशेष अतिथि प्राज्ञ विवश पोखरेल लगायत अग्रज साहित्यकारहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रममा ३ दर्जनभन्दा बढी स्रष्टाहरूले रचना वाचन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *