सिमरा घटना : जेनजी समूह र प्रशासनबीच ३ बुँदे सहमति, आन्दोलन स्थगित
रौतहट। बाराको सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबीच भएको झडपको घटनाले निम्त्याएको तनाव अन्त्य गर्न प्रशासन र जेनजी समूहबीच तीन विषयमा मौखिक सहमति भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा भएको सकारात्मक छलफलपछि जेनजी समूहले तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
जेनजी समूह, बाराका अध्यक्ष सम्राट उपाध्यायका अनुसार छलफलका क्रममा जेनजीहरूको सुरक्षाको सुनिश्चितता, घाइतेहरूको उपचारमा प्रशासनले समन्वय गर्ने र घटनाको निष्पक्ष छानबिन तथा दोषीहरूलाई कारबाही गर्ने लगायतका तीन विषयमा सहमति जुटेको छ । उपाध्यायले घटनामा संलग्न भई पक्राउ पर्न बाँकी रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर निष्पक्ष कारबाहीको माग गर्दै प्रशासनलाई तीन दिनसम्म पर्खने बताएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार अभियुक्तहरूलाई पक्राउ गर्नका लागि प्रहरीले कुनै पनि किसिमको लापरबाही वा ढिलासुस्ती नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहमतिसँगै विगत दुई दिनदेखि अशान्त बनेको सिमराको जनजीवन शनिबारदेखि सामान्य बन्दै गएको छ भने यातायातका साधनहरू पनि निर्वाध रूपमा सञ्चालनमा आएका छन् ।
यसैबीच, एमाले नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न नसकेको भन्दै बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा आउने भएका छन् ।
