कांग्रेस निर्वाचनमा जाने : ‘जेन-जी’ को माग सम्बोधन चुनावबाटै’
काठमाडौँ। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । वर्तमान राजनीतिक सङ्कट, संविधानको संरक्षण र ‘जेन–जी’ (नयाँ पुस्ता) ले उठाएका मागहरूलाई संस्थागत रूपमा निर्वाचनमार्फत नै सम्बोधन गर्न सकिने ठहर गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकले चुनावमा होमिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयसमेत गरेको छ । यद्यपि, दल दर्ताका लागि निर्वाचन आयोगमा पठाइने पत्रमा सभापति शेरबहादुर देउवाको नाम पठाउने वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम पठाउने भन्नेबारेमा भने कुनै उल्लेख गरिएको छैन । दल दर्तामा सभापति देउवाकै नाम गएमा पछि टिकट वितरण प्रक्रियामा पनि सक्रिय हुने सम्भावना रहेकाले यो विषय चर्चामा छ ।
निर्वाचनमा सहभागी हुने निर्णयसँगै कांग्रेसले निर्वाचनको वातावरण निर्माण गर्न सरकारसँग विशेष आग्रह गरेको छ । आम नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने सुनिश्चितताका लागि कांग्रेसले तत्काल हराइरहेका हतियार र कैदीबन्दीहरूलाई नियन्त्रणमा लिनुपर्ने माग अघि सारेको छ ।
यसैबीच, पार्टीभित्र लामो समयदेखि विवादित रहँदै आएको महाधिवेशनको विषयमा भने बैठकले कुनै ठोस निर्णय लिन सकेन । फागुन २१ को निर्वाचनअगाडि महाधिवेशन गर्ने वा पछाडि भन्ने विवाद नमिलेको अवस्थामा राष्ट्रिय राजनीतिका विषयमा भने कांग्रेसले महत्त्वपूर्ण निर्णय गरेको हो । महामन्त्री गगन थापाले महाधिवेशनसम्बन्धी विवादबारे फेरि छलफल गरेर अर्को बैठक बस्ने जानकारी दिए ।
