अवकाशप्राप्त शिक्षकद्वारा १ लाख १५ हजारको अक्षय कोष उपहार

इलाम। लामो समयसम्म विद्यालयको सेवामा समर्पित एक शिक्षकले अनिवार्य अवकाशको अवसरमा विद्यालयलाई ठूलो आर्थिक सहयोग प्रदान गरी उदाहरणीय काम गरेका छन्।

इलामको देउमाई नगरपालिका, जितपुरस्थित जितपुर माध्यमिक विद्यालयका सेवानिवृत्त शिक्षक नेत्रप्रसाद कट्टेलले मंसिर ५ गतेदेखि विद्यालय सेवाबाट बिदा लिने क्रममा आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख १५ हजार रुपैयाँ को अक्षय कोष स्थापनाको घोषणा गरेका हुन्।

शिक्षक कट्टेलले आफ्नो स्वर्गीय पिता पूर्णचन्द्र कट्टेलको स्मृतिमा उक्त अक्षय कोष स्थापना गरेका हुन्। यो कोषबाट प्राप्त हुने ब्याज रकम हरेक वर्ष विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्न प्रयोग गरिनेछ।

कट्टेलका अनुसार यो अक्षय कोषको रकम विशेषगरी कक्षा ५, कक्षा ८ र कक्षा १० का उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत गर्न प्रयोग गरिनेछ।

विद्यालयको बिदाइ कार्यक्रममा बोल्दै शिक्षक कट्टेलले विद्यालयको प्रगतिमा सबैजनाको उल्लेखनीय हात रहने भन्दै सबै सरोकारवालालाई विद्यालयको प्रगतिका लागि अझ हौसलापूर्ण ढङ्गले काम गर्न सुझाव दिएका थिए।

सेवानिवृत्त भए पनि विद्यालय र विद्यार्थीको भविष्यका लागि कट्टेलले गरेको यो अतुलनीय योगदानले शिक्षण पेसाबाट अवकाश लिएपछि पनि सामाजिक उत्तरदायित्व पूरा गर्ने शिक्षकको समर्पणलाई थप उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *