धनकुटामा हायस दुर्घटना : १ जनाको मृत्यु, १६ घाइते

विराटनगर । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदबारीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रो बस शुक्रबार बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका–५, भैंसेमा बिहान ६ः१० बजेतिर बा ४ ख ५२०२ नम्बरको सप्तकोशी हायस दुर्घटनामा परेको हो। दुर्घटनाको विवरण धनकुटा प्रहरी प्रमुख एसपी सरत थापा क्षेत्रीका अनुसार माइक्रो बस आफैं अनियन्त्रित भई सडकबाट करिब ७० मिटर तल खसेको थियो।

दुर्घटनामा परी संखुवासभाको सभापोखरी गाउँपालिका–२ की ८२ वर्षीया सावित्री कालाखेतीको ज्यान गएको छ। गम्भीर घाइते अवस्थामा उनलाई उद्धार गरी उपचारका लागि धनकुटा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। घाइतेहरूको अवस्था दुर्घटनामा माइक्रोका चालक र एक प्रहरी जवानसहित १६ जना घाइते भएका छन्। घाइते हुनेहरूमा संखुवासभा, भोजपुर, उदयपुर, सप्तरी, सिन्धुली र धनकुटाका बासिन्दा रहेका छन्।

घाइतेमध्ये नेपाल प्रहरीकी जवान ३० वर्षीया सुजता गिरी र माइक्रो चालक ३५ वर्षीय दीपेन्द्र बुढाथोकी पनि रहेका छन्। ११ वर्षीया बालिकादेखि ५० वर्षीय पुरुषसम्म घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको धनकुटा अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनाको यकिन कारण हालसम्म खुल्न सकेको छैन भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको एसपी थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *