देशभर घरजग्गा कारोबारमा मन्दी : नीति खुकुलो बनाए पनि बढेन राजस्व
काठमाडौँ । देशभर घरजग्गाको कारोबारमा पुनः मन्दी देखिन थालेको छ। सरकारले घरजग्गा कारोबार चलायमान बनाउन नीतिगत सहजीकरण गरे पनि बजारमा उत्साह नदेखिँदा राजस्व सङ्कलन निरन्तर ओरालो लागेको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार साउनको तुलनामा कात्तिक महिनासम्म आइपुग्दा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ। राजस्व विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा उत्साहजनक देखिएको राजस्व सङ्कलन त्यसपछिका महिनाहरूमा क्रमशः घट्दै गएको छ।
गत साउन महिनामा देशभरका मालपोत कार्यालयमार्फत ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व सङ्कलन भएको थियो। भदौमा यो रकम घटेर ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ रुपैयाँ मा सीमित भयो। असोजमा अझै गिरावट आउँदै २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ सङ्कलन भयो।
गत कात्तिक महिनामा राजस्व सङ्कलन चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्दै २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ रुपैयाँ मात्र सङ्कलन भएको छ। तथ्याङ्क विश्लेषण गर्दा साउनको तुलनामा कात्तिक महिनामा राजस्व सङ्कलन करिब ५४ करोड रुपैयाँले घटेको देखिन्छ।
संशोधित नियमावलीको प्रभाव देखिएन सरकारले घरजग्गा कारोबारमा देखिएको सुस्तता हटाउन हालैमात्र ‘भूउपयोग (तेस्रो संशोधन) नियमावली’ मार्फत कित्ताकाट लगायतका विषयमा लचकता अपनाएको थियो। तर, उक्त नीतिगत सुधारको प्रभाव तत्कालै राजस्वमा प्रतिबिम्बित हुन सकेको छैन।
कात्तिकको राजस्व विवरण विभागका अनुसार गत कात्तिक महिनामा सङ्कलित २ अर्ब ७४ करोड रुपैयाँमध्ये सबैभन्दा ठूलो हिस्सा रजिस्ट्रेसन दस्तुरको रहेको छ।
रजिस्ट्रेसन दस्तुर: १ अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ
पुँजीगत लाभकर: ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ
सेवा कर: २१ करोड ३४ लाख ४७ हजार ४१३ रुपैयाँ
आर्थिक मन्दी, तरलता अभाव र लगानीकर्ताको कमजोर मनोबलका कारण घरजग्गा बजार प्रभावित भइरहेको सरोकारवालाहरूले बताएका छन्।
