सिमरा तनाव : आयोगको निर्देशन ‘शान्ति सुरक्षा मजबुत बनाऊ’
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न तनावग्रस्त परिस्थितिलाई लिएर गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई तत्काल शान्ति सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ। आयोगले घटनाको निष्पक्ष छानबिन गर्न र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल द्वारा बिहीबार जारी विज्ञप्तिमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न तथा संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्न सबैमा अपिल गरिएको छ।
घटनाको विवरण र क्षति
आयोगको अनुगमन अनुसार, बुधबार राजनीतिक दलका कार्यकर्ता र जेनजी युवाहरूबीच विवाद उत्पन्न भएपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढेको थियो। झडपका कारण विमानस्थलको गेटमा क्षति पुगेको, उडानहरू प्रभावित भएको र स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
आयोगले यस घटनामा पाँच जना घाइते भएको विवरण पाएको जनाएको छ। घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने जानकारी आयोगलाई प्राप्त भएको छ।
निर्वाचनको वातावरण बिग्रने चिन्ता
आयोगले देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा गम्भीर असर पर्ने भन्दै गम्भीर हुन ध्यानाकर्षण गराएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको घटनाले संविधानको धारा १७ मा उल्लेखित स्वतन्त्रताको हक हनन हुनुका साथै निर्वाचनका सरोकारवालाहरूबीच आपसी सद्भावमा समेत प्रतिकूल प्रभाव पर्न जान्छ।”
एमालेको दावी: ‘सुनियोजित षड्यन्त्र’
यसैबीच, नेकपा एमालेले सिमरामा आफ्ना नेताहरूको विरोधका नाममा भएको झडपलाई ‘सुनियोजित र प्रायोजित’ घटना भएको दाबी गरेको छ। एमालेका नेताहरूले यो घटना आफ्ना नेताहरूको मधेश प्रदेश प्रवेशलाई रोक्नका लागि गरिएको षड्यन्त्र भएको आरोप लगाएका छन्। पार्टीले शान्तिपूर्ण भेला तथा सभाको अधिकारमाथि हस्तक्षेप गर्ने कार्यको निन्दा गर्दै घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न माग गरेको छ।
पक्राउ: घटनाको सिलसिलामा जेनजी युवामाथि कुटपिट गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमुदिन अन्सारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
