स्वरसम्राट नारायण गोपालसँगको एउटा अधूरो सपना
मेरो साङ्गीतिक यात्रा वास्तवमा स्वरसम्राट नारायण गोपालज्यूका गीतहरूबाटै भयो। सानैमा उहाँका गहन गीतहरूले मेरो मन छोएपछि म आफैँ ती गीत गाउने प्रयास गर्थेँ। सायद यसैले होला, धेरै सङ्गीतप्रेमीहरूले मलाई उहाँकै दोस्रो रूप ठान्दथे, जुन मेरा लागि ठूलो सौभाग्य र जीवनको सार्थकता थियो।
म उहाँजस्तै राम्रो गायक बन्न चाहन्छु, यद्यपि कोही पनि नारायण गोपाल हुन सक्दैनन् भन्ने ध्रुवसत्य मलाई थाहा छ। तर उहाँको अनुयायी भएकै कारण ममा उहाँको झल्को देखिनुमा मात्र पनि म आफूलाई भाग्यशाली ठान्दछु।
म करिब एघार वर्षको हुँदा सबैले मलाई ‘जुनियर नारायण गोपाल’ भनेर प्रशंसा गर्थे। उहाँसँग भेट्ने मेरो सपना थियो। दैवले पनि ‘तँ चिता म पुऱ्याउँछु’ भनेझैँ, एकपटक उहाँसँग साक्षात्कार गर्ने अवसर मिल्यो। उहाँले मलाई चिनेपछि मेरो काँधमा हात राखेर ‘तिमी तबला त निकै राम्रो बजाउँदो रहेछौ नि!’ भन्नुभयो।
तर विडम्बना, त्यो अमूल्य क्षण कैद गर्न मसँग मोबाइल वा क्यामरा थिएन। त्यो पल मेरो मन मस्तिष्कमा मात्र रह्यो, तर त्यो अविस्मरणीय क्षण नै मेरा लागि काफी छ। यद्यपि, एउटा तस्बिर मात्र भएको भए त्यो सम्झना कति मिठो हुन्थ्यो होला भनेर पलपल खट्किरहन्छ।
यसैकारण होला, म उहाँलाई सधैँ सपनामा देखिरहन्छु। अचम्म त हिजो पनि भयो, जब सपनामा उहाँसँग मिठो भलाकुसारी भयो। पहिलाको भेटमा तस्बिर खिच्न नपाएको बिस्मात् यस पटक नदोहोरियोस् भनेर हतार हतार मोबाइल झिकेर तस्बिर लिन लाग्दा… आँखा खुल्यो। बिपना नै जस्तो लागेको त्यो क्षण सपना रहेछ भन्ने थाहा पाएँ, र पूरा नभएको त्यो सपनाले चित्त दुखायो।
म मन बुझाउँछु- आगामी मङ्सिर उन्नाइस गते स्वरसम्राटको स्मृति दिवस हो। सायद उहाँले नेपाली धर्तीका आफ्ना प्रतिनिधि गायकहरूलाई अहिले नै सम्झनुभयो होला र सपनामा आउनुभयो। मैले अनुभूत गरें, उहाँको प्रेम र स्नेह म रहुन्जेलसम्म रहिरहने छ। मेरो शिरमाथि उहाँको दिव्य आशीर्वाद रहिरहने नै छ।
हार्दिक श्रद्धा सुमन प्रिय नारायण गोपाल।
