जनकपुरधाममा विवाह पञ्चमीको विधि सुरु
फाइल तस्बिर
काठमाडौँ। मिथिलाञ्चलको सांस्कृतिक राजधानी जनकपुरधाममा प्रत्येक वर्ष भव्यताका साथ मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आज बिहीबार औपचारिक रूपमा सुरु हुँदैछ। सप्ताहव्यापी यो धार्मिक पर्वको पहिलो दिन आज नगरदर्शन कार्यक्रम राखिएको छ।
जानकी मन्दिर व्यवस्थापन समितिका अनुसार आज नगरदर्शनपछि शुक्रबार फूलबारी लीला, मङ्सिर ६ गते धनुषयज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र मङ्सिर १० गते रामकलेवा विधिको साथमा महोत्सवको समापन हुनेछ।
महोत्सवको तयारी तीव्र पारिएको छ। जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान र बाह्रबिघा परिसरमा सरसफाइ, पण्डाल निर्माण तथा बत्ती जडानका काम अन्तिम चरणमा पुगेका छन्। प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजनहरूको आगमन हुने गर्छ।
यस वर्ष पनि अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका प्रमुख धार्मिक केन्द्रहरूबाट ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त र भिक्षुहरूको उपस्थिति रहने जनाइएको छ। यो महोत्सव नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत गर्ने प्रमुख माध्यमका रूपमा परिचित छ।
