थपिए ६ लाख २० हजार नयाँ मतदाता
फाइल तस्बिर
काठमाडौँ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले खुला गरेको मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता देखिएको छ।
आयोगका अनुसार सोमबार राति साढे ९ बजेसम्म ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन्। आयोगको तथ्याङ्कअनुसार, नियमित सर्भरमार्फत ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् भने राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जनाको नामावली सङ्कलन गरिएको छ।
आयोगले युवा पुस्ता अर्थात जेनजीलाई लक्षित गरी अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नामावली सङ्कलन जारी राखिएको आयोगले जनाएको छ।
सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नाम दर्ताको समय दिइएको थियो। तर, आयोगले नामावली दर्ता गर्न बाँकी रहेकाहरूका लागि यही मंसिर ५ गतेसम्म म्याद थप गरेको छ।
