जेनजी आन्दोलन : देशभर ७८ अर्बको भौतिक संरचना ध्वस्त

काठमाडौँ। गत भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिको प्रारम्भिक विवरण सरकारले सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोगको अगुवाइमा गरिएको अध्ययनअनुसार देशभरका सरकारी र निजी सम्पत्तिमा करिब ७८ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको आकलन गरिएको छ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आन्दोलनले पारेको आर्थिक नोक्सानीको विवरण प्रस्तुत गरे।

देशभर करिब ७८ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक आकलन छ। कुल क्षतिमध्ये ३६ अर्ब रुपैयाँ बराबरको नोक्सानी निजी क्षेत्रका संरचनामा भएको छ।

देशभरका ५५ जिल्लामा करिब २ हजार ९०० भवनहरू क्षतिग्रस्त भएका छन्, जसमध्ये ४१९ निजी क्षेत्रका संरचना रहेका छन्। आन्दोलनका क्रममा सरकारी कार्यालय, ठुला सुपर स्टोरदेखि साना पसलसम्म आगजनी, तोडफोड, लुटपाट र चोरी भएका थिए।

अर्थमन्त्री खनालले पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटबाट पुनर्निर्माणका लागि एक खर्ब २० अर्ब बराबरको स्रोत जुटाएको र यो रकम क्षतिपूर्ति तथा पुनर्निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गरेका छन्।

उनले करिब एक वर्षभित्रमा सबै पुनर्निर्माणको काम सक्ने तयारी रहेको जानकारी दिए। बिमा दाबी भुक्तानीलाई सहज बनाउन र तत्काल राहतका लागि ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था मिलाइएको अर्थमन्त्रीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *