‘ढुङ्गो फुलेपछि’ लिँदै आए नेत्र

विराटनगर। युवा कवि नेत्र खतिवडाको पहिलो कृति ‘ढुङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रहको नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले आयोजना गरेको एक कार्यक्रममा लोकार्पण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, उमेश लुइँटेल, भुषण ढुङ्गेल, प्रयाग न्यौपाने र आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

लोकार्पणपछि कृतिमाथि समालोचकद्वय उमेश लुइँटेल र भुषण ढुङ्गेलले समीक्षा प्रस्तुत गरेका थिए। लुइँटेलले मुक्तकसङ्ग्रहभित्रका मुक्तकहरूमा समसामयिक, श्रृङ्गारिक तथा राष्ट्रप्रेमसँग सम्बन्धित विषयवस्तुहरूलाई बिम्ब र प्रतीकको यथोचित उपस्थापनसहित कलात्मक ढङ्गले उठान गरिएकोले कृति उत्कृष्ट रहेको धारणा राखे।

अर्का समालोचक ढुङ्गेलले मुक्तककार खतिवडामा जुनसुकै विषयवस्तुलाई पनि सूत्रात्मक र चमत्कारिक ढङ्गले उठाउन सक्ने दख्खल रहेको उल्लेख गर्दै कृतिमा मुक्तकमा हुनुपर्ने सबै गुण रहेको बताए। उनले मुक्तककारको सिर्जना यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गरे।

प्रमुख अतिथि प्राज्ञ पोखरेलले मानवीय संवेदनायुक्त यस कृतिले समाज र वर्तमान समय बोलेको धारणा राखे। नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष पोखरेलले सिर्जनाधर्मितालाई निरन्तरता दिन सके मुक्तककारको भविष्य उज्वल हुने विश्वास व्यक्त गरे।

सोही अवसरमा नानुमैया दाहाल, नवराज पोखरेल ‘नवशिला’, प्रज्ञा कट्टेल, पुष्पा सायरा लगायतका मुक्तककारहरूले लोकार्पण गरिएको सङ्ग्रहभित्रका २–२ वटा मुक्तक वाचन गरेका थिए।

विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव मदन भण्डारीले गरेका थिए भने सदस्य लक्ष्मी रायमाझीले स्वागत मन्तब्य राखेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *