महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती आज मङ्गलबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदानको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते यो जयन्ती मनाउने गरिन्छ।
विसं १९४२ कात्तिक २५ गते इलामको एक सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। उनले किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी महत्त्वपूर्ण योगदान पुर्याएका छन्। उनले जारी गरेको समाज सुधारसम्बन्धी नीतिलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ, जुन विसं १९८८ साल वैशाख २४ गते जारी भएको थियो।
किरात समाज सुधारमा उनले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। महागुरु फाल्गुनन्दको निधन भने विसं २००५ मा भएको थियो।
उनको योगदानको सम्मान गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू जस्तै ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बाहुल्य भएका जिल्लाहरूमा आज फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ। किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार राजधानीमा पनि विभिन्न कार्यक्रम आयोजना गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने तयारी गरिएको छ।
