राजदुवालीको शिला : आस्था, चर्चा र विवादको केन्द्र
इलाम । बाढी र पहिरोले क्षतविक्षत भएको इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली खण्ड अहिले धार्मिक आस्था, सामाजिक चर्चा र विवादको त्रिवेणी बनेको छ।
एक स्थानीय युवतीको सपनाको दाबीपछि उत्खनन गर्दा भेटिएका पाँचवटा शिलाले स्थानीयहरूलाई धार्मिक उत्साह दिए पनि यसको पुरातत्विक महत्वबारे भने अन्योल कायमै छ।
इलाम नगरपालिका–४ की २३ वर्षीया प्रमिला कार्कीले माईखोला नजिकै रहेको पहिरोले पुरेको स्थानमा पाँचवटा शिला रहेको सपनामा देखेको कुरा सार्वजनिक गरेकी थिइन्। उनको सपनाको आधारमा स्थानीयले उत्खनन गर्दा त्यहाँ साँचिकै पाँचवटा शिला फेला परेको थियो।
शिला भेटिएपछि कतिपयले त्यसलाई ‘ईश्वरीय ‘चमत्कार’ भन्दै पूजाआजा सुरु गरेका छन्। शिला उत्खननको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राजदुवालीमा दर्शनार्थी र ‘माता’ हरूको भीड बढेको छ।
यो घटना आस्थाको केन्द्र बनेसँगै विवादमा पनि तानिएको छ। शिलामाथि कुल्चेको र सपना देखेपछि उत्खननमा संलग्न युवती कार्कीलाई धकेलेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पार्टीका स्थानीय नेता यमनाथ भण्डारीलाई निलम्बन गरेको छ। राप्रपाले उनको व्यवहारलाई ‘अशोभनीय, अमर्यादित र अमानवीय’ ठहर गर्दै कारबाही गरेको हो।
शिला भेटिएको यो घटनालाई धार्मिक आस्थासँग मात्र जोडेर हेर्न नहुने पुरातत्वविद्हरूले बताएका छन्। कुनै पनि अनौठो र पुरानो देखिने शिला भेटिएमा त्यसलाई तत्काल धार्मिक आस्थाको विषय बनाउनुभन्दा पहिले वैज्ञानिक र पुरातत्विक अध्ययन हुनुपर्ने उनीहरुको भनाइ छ।
ती शिलाहरू कुनै प्राचीन सभ्यता, धार्मिक संरचना वा साधारण भूगर्विक संरचनाका अवशेष पनि हुन सक्छन्। यसको सही इतिहास पत्ता लगाउन र संरक्षण गर्नका लागि सरकारले आवश्यक अनुसन्धान टोली खटाउनुपर्ने विज्ञहरुको मत छ।
शिला भेटिएको ठाउँमा केही सर्पहरु पनि देखिएको थियो। ती नाग भएको भन्दै स्थानीयले त्यस क्षेत्रको संरक्षण गरिनुपर्ने बताउँदै आएका छन्।
चर्चा र विवादमा आएपछि अवलोकन गर्न पुगे पनि इलाम नगरपालिकाका जनप्रतिनिधिहरूले समेत यस विषयमा तत्काल कुनै निर्णय लिन सकेका छैनन्।
नगरपालिकाका एक अधिकारीले भने, ‘शिला त्यहीं राखेर मन्दिर बनाउने वा अन्य स्थानमा सार्ने भन्ने विषयमा स्थानीय समुदाय नै अन्योलमा छ। पालिकाले यसमा सहजीकरण मात्र गर्न सक्छ, तर अन्तिम निर्णय आस्था र समुदायको सहमतिमा हुनेछ।’
इलामको राजदुवालीमा देखिएको यो घटनाले आस्था र विज्ञानको बीचमा एउटा ठूलो प्रश्न खडा गरेको छ, जसको जवाफका लागि स्थानीय प्रशासन र सरकारको थप सक्रियता आवश्यक देखिन्छ।
यस घटनाप्रति धेरैको चासो देखिएको छ। शिला भेटिएको र त्यहाँ पञ्चकन्याको बास रहेको भन्ने चर्चा फैलिएपछि आसपास क्षेत्रका साथै टाढा टाढाबाट पनि अवलोकन गर्न पुग्नेहरुको संख्या दिनहुँ बढिरहेको छ।
घटनाको नजिकैबाट नियालिरहेका स्थानीय दिपेश अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्-
हिजोआज धेरै चर्चामा रहेको माईखोलाको यो ठाउँ शिला उत्खनन गर्नु भन्दा पहिला पुलमुनि घाटमा तीन घण्टासम्म शवको दाहसंस्कार गरुन्जेल सार्वजनिक शौचालय नहुँदा मलामीहरु सबैको प्रायः यो अलि लुकेको र छलिएको ठाउँ सार्वजनिक शौचालय जत्तिकै दिशा पिसाब गर्ने ठाउँ थियो। अहिले यहीं ठाउँमा देवी र नाग भेटिएको भनेर पूजाआजा र मानमनितो गर्ने भन्ने चर्चा चलेपछि मलाई लागेको, समस्या अब मलामीहरुले दिशा पिसाब गर्नको लागि स्थानीय तहले कतै सार्वजनिक शौचालयको निर्माण गरिदिन यथाशीघ्र जरुरी देखिन्छ।
यसैगरी, पूर्वपत्रकार एवं नागरिक समाजका अगुवा धीरेन चेम्जोङ लेख्छन्, ‘राजदुवालीको यो भाइरल शिलालाई अब अमुक नामको देवीस्थान हुनबाट कसैले छेक्न सक्ने अवस्था रहेन। हाल रहेको स्थान निकट शवदाह गर्ने गरिएको र बाढीको समेत खतरा रहेकोले विधिपूर्वक सर्वस्वीकार्य उचित स्थानमा व्यवस्थित गर्न इलाम नगरपालिकाले पहल गर्नु सके धार्मिक पर्यटकहरु भित्र्याउन सकिने राम्रो माध्यम बन्न सक्छ। हजुरहरुको विचारमा के गर्दा होला ?’
तस्बिरः दिपेश अधिकारी
