हिमालको चिसोमा न्यानो सौन्दर्य

हिमाल, तिमीले मलाई हिउँभरि मुस्कानले स्वागत गर्‍यौ। मैले आँखाभरि हर्षका आँसुले त्यसलाई स्वीकार गरें।

म जुन उद्देश्य र उपलब्धिको मीठो आशा सङ्गालेर यहाँसम्म आएको थिएँ, अन्ततः मैले ती सबै पाएँ। म धन्य–धन्य भएँ!

मेरो यो अहोभाग्य मेरै देशको, मेरै प्रकृतिको विराट हिमाली छटाहरूले दिएको हो। यी प्रकृतिका विचित्र विम्ब–बान्की देखेर म अवाक् भइरहेँ।

मैले खोजेको प्रकृति यही र यस्तै थियो। मैले देख्ने सौन्दर्य यही चिसोमा पनि न्यानोपनको अनुभूति थियो।

भूगोलको परिवर्तन, मनको उडान

मेरो यात्रा भूगोलको परिवर्तन, मनको उडान र हृदयले ती सबैलाई आत्मसात् गर्ने एउटा दुर्लभ अवसर मिल्यो।

हिउँ परिदिनु, मौसम खुल्नु अनि यात्रीको यात्रालाई सुनमा सुगन्ध थपिदिनु कति धेरै खुसीको कुरा भइदिएको थियो।

जहाँसम्म आँखा पुग्थ्यो, त्यहाँसम्म हिउँको निर्मल शृङ्गारले प्रकृतिको क्यानभास ढाकिएको थियो।

यस्तो दृश्य कि जहाँ मन हावाको वेगसरी बतासिन चाहन्थ्यो। हिमालका श्वेताम्बर आवरणमा खुलेको मोहक छविले कसलाई मोहित पार्दैन र?

यस्तो दृश्य हेरेर कहाँ अघाउनु र मन! भोक भाग्थ्यो। शोक भाग्थ्यो। हिमालमै लुटुपुटु गरिरहन मन लाग्थ्यो।

खुसीका हजारौँ स्पर्शहरूले चुम्न आउँथ्यो। प्रकृतिको विराट वैभवमा यता दौडिँदै, उता हुत्तिँदै रमाउनुको पराकाष्ठामा, खुसीको अन्तिम बिन्दुसम्म हराउन मन हुन्थ्यो।

अन्नपूर्ण आधार शिविरको त्यो दिन, आहा! मेरा आँखाका परेलीमा नृत्यमग्न हुन आउँछन्, आइरहन्छन्। म तिनको अनुभूतिमय आभामा नतमस्तक हुँदै भावनाका भेलसँग तैरिन थाल्छु।

कोमल काया-कलेवरको छातीमा थुप्रिएका चिसा हिउँका चाङ देखेर हिमालको चिसोमा पनि न्यानो सौन्दर्यको अनुभव गर्छु।

हिमाल: महान् मात्र होइन, जीवित ग्रन्थ

धेरैले हिमाललाई तस्बिरमा वा भिडियोमा देखेर ‘वाह!’ र ‘आहा!’ भन्ने विशेषणमा सीमित राखेको देखेको हो। म आफैँ पनि त्यही कोटीकोमा पर्ने।

तर आज हिमाल र हिउँसँगको साक्षात्कारमा जीवन्त यात्राको अविस्मरणीय दस्तावेज लेखिँदै थियो।

हिमालको फेदीमा पुगेपछि लाग्यो– हिमाल ‘महान्’ मात्र होइन, यो त भावनात्मक अनुभूतिहरूको एक ‘जीवित ग्रन्थ’ रहेछ।

हिउँसँगको मेरो सम्बन्ध, टाढाबाट हेर्ने एक निष्पक्ष दर्शकको थियो।

तर, जब यात्राले उकालोको अन्तिम मोड लियो र आधार शिविरको फेदीमा मेरो थकित पाइला पर्‍यो, त्यो सम्बन्ध एकाएक प्रेममा परिणत भयो।

टाढाबाट देखिएको चाँदीको मुकुट, अब मेरो खुट्टाको नजिकै नरम गलैँचा बनेर बिछ्याइएको थियो। मेरा सबै दुखाइ र थकाइहरू छिनभरमै कता हराए कता।

हिउँको संगीत र आत्मिक ताप

मेरो पहिलो पाइला हिउँमा पर्दा, कानमा एक पुरानो कविताको लय गुञ्जियो– अनौठो, एकनासको लयबद्ध आवाज! अर्थात् कुनै संस्कृत शब्दावलीको उच्चारण जस्तै।

सुन्दा अपठ्यारो, असजिलो र नबुझिने, तर सुन्दै जाँदा त्यसमा शास्त्रीय सङ्गीतको मीठो आवाज कानमा सुस्तरी गुञ्जिन आइरहेको थियो।

अन्ततः यो आवाज भौतिक थिएन, यो त मेरा दबेका चाहनाहरूले मुक्ति पाएको घोषणा थियो।

जुत्ताले हिउँमा टेकेर आएको चरम–चरमको आवाजमा पनि मैले न्यानो सौन्दर्यको मिठास चाख्न पाइरहेको थिएँ।

खुट्टा ठिहिर्‍याएर र हात गंग्रिएर अठ्यारिँदा पनि मन न्यानोपनले भरिएको थियो।

त्यो क्षण, म एक्लो यात्री थिइनँ। मेरा वरिपरि कैयौँ स्वदेशी तथा विदेशी पर्यटकहरू थिए, जो लामो यात्राको थकान भुलेर म जस्तै निःसर्त खुसीमा डुबिरहेका थिए।

आफूले आफैँलाई बिर्सिएर प्रकृतिको आँगनमा मस्तले चुपचाप मग्न थिए।

उनीहरूका हाँसोको ध्वनि हिमालका मौन पर्खालहरूमा ठोक्किएर हर्षविभोरताको प्रतिध्वनि सिर्जना गरिरहेको थियो।

कसैको हातमा हिउँको गोला थियो, जसलाई उनीहरूले स्नेहपूर्वक साथीतिर फ्याँक्दै थिए। कसैले हात फैलाएर हिउँको शीतल वर्षालाई स्वागत गरिरहेका थिए।

उनीहरूको अनुहारमा देखिएको त्यो सहज र निश्छल खुसी, संसारका सारा भौतिक सुखभन्दा कैयौँ गुणा मूल्यवान् थियो।

ती सबैको माझमा म थोरै अलग्गिएर, हिउँले ढाकेको एक ठूलो चट्टानमा बसेँ।

शरीरको बाहिरी भागमा हिउँको चिसो स्पर्श गहिरिँदै गयो। तर भित्र कतै अजीब न्यानोपनको अनुभूति भइरहेको थियो।

यो न्यानोपन सूर्यको तापको थिएन, न त ऊनी कपडाको सुरक्षाको, न त आगोको रापको नै।

यो त प्रकृतिको विराट शक्तिको सामीप्यमा आफूलाई समर्पण गर्न पाउँदाको आनन्द थियो।

आफ्नो अस्तित्वलाई यो विशालताको अगाडि नगण्य ठान्दा पनि पूर्ण महसुस गर्न पाउँदाको आत्मिक ताप पनि थियो।

जीवनको गहिरो दर्शन

लाग्यो– हिउँको यो साम्राज्यले मलाई जीवन र प्रकृतिबीचको सम्बन्धको गहिरो दर्शन सिकाइरहेको छ।

चिसोपनले बाहिरी आवरणलाई मात्र छुन्छ, तर हृदयमा बस्ने प्रेम र आनन्दलाई छुन सक्दैन।

जीवनमा आउने कठिनाइहरू, जो हिउँझैँ चिसो र कठोर लाग्न सक्छन्, तिनै कठिनाइहरूको माझमा बसेर पनि मनको न्यानो आशालाई जोगाइराख्नुपर्छ।

यहाँको हावामा शिखरहरूको मौनता थियो, जसमा मैले आफ्नै विचारहरूको आवाज स्पष्टसँग सुनेँ।

हिउँको सेतो रङ, जसलाई शुद्धताको प्रतीक मानिन्छ, त्यसले मेरो मनलाई पनि सारा द्वन्द्व र कोलाहलबाट मुक्त गरिदियो।

मैले जीवनका सबै तनाव र झमेलाका पोकापन्तुरोहरूलाई हिमनदीको भेलमा बगाइदिएँ।

अब म मुक्त, स्वतन्त्र, शान्त, शीतल अनुभूतिको नीलो आकाशमुनि आरामले, आनन्दले ध्यानमग्न भइरहेको थिएँ।

जापानी पर्यटकसँगको भेट

जसै साँझ पर्दै गयो, हिमालका चुचुराहरूमा अस्ताउँन लागेको घामको लाली र सुनौला रङ पोखिए। त्यो स्वर्गीय दृश्यले मेरो आँखा र मन दुवैलाई तृप्त पारिदियो।

मैले हिउँलाई हेरेको थिइनँ, मैले उसलाई जिएँ। मैले हिउँको चिसोपनमा बसेर, जीवनको सबैभन्दा न्यानो र अविस्मरणीय अनुभव सङ्गालेर फर्किएँ।

यो यात्रा भौतिक दूरीको समापन मात्र थिएन, यो त आत्मिक शान्तिको उदय थियो।

हिउँको साम्राज्यमा चिसो स्पर्श हुँदाहुँदै पनि आत्मिक तापको सुखद न्यानोपनले मन हर्षित भइरह्यो। हिमालको चिसोमा न्यानो सौन्दर्यले मलाई पटक–पटक अङ्गालोमा बेरिरह्यो।

अन्नपूर्ण आधार शिविर पुग्दा हिजो दिनभरि र रातभरि परेको हिमपातले सम्पूर्ण वातावरणलाई सेतो आवरणले ढाकिदिएको थियो। हिउँको साम्राज्यमा मेरो आँखा हराएको थियो।

त्यही बेला मैले एकजना जापानी पर्यटकलाई भेटें। हुन त पाहुनाहरूकै हुलमुलमा अन्य देशका पर्यटकहरू पनि त्यत्तिकै थिए।

तर ती जापानी पर्यटकले मेरो फोटो पनि खिचिदिएका र मैले पनि उनको खिचिदिएको नाताले हामी केही नजिक भएका थियौँ।

उनको अनुहार खुसीले उज्यालिएको, आँखामा चमक र थाकेका खुट्टामा पनि हिँडाइको हतार थियो।

मैले उत्सुकताले सोधेँ– “तपाईं यहाँ पहिलोचोटि आउनुभएको हो?”

उनले हाँस्दै जवाफ दिए– “हो। म हिमाल हेर्न मन पराउँछु। यहाँको हिउँको दृश्य अद्भुत छ। अन्नपूर्णमा मेरो पहिलो यात्रा हो।”

मैले फेरि सोधेँ– “तपाईं यति खुसी हुनुहुन्छ, हिँडेर थाक्नुभएको छैन र?”

उनले खाँटी हाँसो हाँस्दै जवाफ दिए– “थकाइ त छ, तर हिउँसँगको यो नजिकको भेटले सबै थकावट हराएको छ। मन रमाइलो अनुभूतिमा मग्न छ।”

मैले उनलाई हेर्दै हाँस्दै भनें– “साँचो भन्नुपर्दा, तपाईं नेपाली भएको भए अझ भाग्यमानी हुनुहुन्थ्यो होला है।”

उनले मेरो कुरा सुनेर आँखीभौँ माथि उठाउँदै मुस्कानसहित भने– “साँचो हो, नेपाली हुनु ठूलो भाग्य हो। तर यहाँ हिँड्दा, हिउँमा चिप्लिँदै, हर कदममा प्रकृतिको सुन्दरता महसुस गर्दा म पनि भाग्यमानी महसुस गरिरहेको छु।”

त्यो संवादले मलाई लाग्यो– सौन्दर्य देखिने मात्र होइन, अनुभव गर्ने पनि हुन्छ। हिउँको चिसोपन, हिमालको गम्भीरता र एक अनजान परदेशी पाहुनाले पाएको खुसी– यी सबैले मेरो मनमा अमूल्य अनुभूतिका खजानाहरूले भरिभराउ भए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *