‘जेनजी आन्दोलनका घटना नियोजित, अनुसन्धान हुँदैछ’
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिंन्हाले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाहरू नियोजित प्रकृतिका रहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले भदौ २३ र २४ गतेका घटनामा हतियार लुटिएका र जेलबाट कैदी भागेकाले जनताले असुरक्षित महसुस गर्नु स्वाभाविक भएको उल्लेख गरे।
उनले यी घटनाहरूमाथि अहिले व्यापक अनुसन्धान भइरहेको र सुरक्षाकर्मीहरूले भागेका कैदी तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्दै अभियुक्तहरूलाई दैनिक रूपमा पक्राउ गरिरहेको जानकारी दिए।
सोही बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभा सञ्चालनका क्रममा देखिएका कानूनी जटिलता र अस्पष्टताहरू बारे सरकारको ध्यानाकर्षण गराए। अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि देखिएका असहजता र अस्पष्टताहरूलाई कानून मन्त्रीले गम्भीरताका साथ समाधान गर्ने अपेक्षा व्यक्त गरे।
उनले राष्ट्रिय सभाले सरकारलाई सहजीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले बैठक सञ्चालनका लागि आवश्यक पूर्वाधारमा सरकारले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए।
