प्रसिद्ध बंगाली उपन्यास ‘शेष प्रश्न’ अब नेपालीमा

काठमाडौँ। बंगाली साहित्यका विश्वप्रसिद्ध लेखक शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’को नेपाली अनुवाद प्रकाशनमा आएको छ। संगीतज्ञ तथा कवि आभासले अनुवाद गरेको यो कृतिलाई पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो।

कालिकास्थानस्थित आरशालामा मंगलबार साँझ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अनुवादक आभासले यो अनुवाद कर्म कुनै गीति सृजनामा आफ्नै पाराले धुन भरेको जस्तै भएको बताए। किशोरावस्थामै पढेर आफूलाई गहिरो प्रभाव पारेको उपन्यास ‘शेष प्रश्न’लाई नारायण वाग्लेको विशेष अनुरोधमा अनुवाद गर्न तयार भएको उनले जानकारी दिए।

“मन परेको उपन्यास कुन हो भनेर कुराकानी हुँदै गर्दा मलाई सबैभन्दा पहिला ‘शेष प्रश्न’कै सम्झना भयो। धेरै पछि फेरि यही किताब पढ्दा झनै मन पर्यो,” आभासले भने।

लोकार्पित पुस्तकबारे टिप्पणी गर्दै ‘कुमारी प्रश्नहरू’ कथा संग्रहकी लेखक दुर्गा कार्कीले उपन्यासको मूल पात्र ‘कमल’को प्रशंसा गरिन्। उपन्यास छापिएको झन्डै सय वर्षपछि पनि कमलको पात्र सपनाजस्तै लाग्ने उनले बताइन्।

कार्कीले भनिन्, “उनको पात्रले बोकेको बहुआयामिकता, जटिलता, सूक्ष्मता र क्रान्तिचेत प्रगतिशील साहित्यमा विरलै भेटिन्छ। दुःखको कुरो, प्रेम, नैतिकता, विवाहलगायत लैंगिक सामाजिक मूल्य-मान्यतामा ‘शेष प्रश्न’मार्फत गरेको परिकल्पनादेखि हामी अझै पनि धेरै पर छौँ। यसको चरित्र चित्रण, संवादात्मक आख्यानशैली र प्रगतिशीलता सुन्दर छ।”

कार्यक्रममा अनुवादक आभासले आफू बंगाली साहित्य र संगीतबाट प्रभावित रहेको बताउँदै, बंगालमा लामो समय बसेको अनुभव सुनाए। उनले रवीन्द्र गान सुनाएर आफ्नो मन्तव्य आरम्भ गरेका थिए भने, अन्तमा उनले उत्तर बंग विश्वविद्यालयका प्राध्यापक सञ्जय बान्तवाले लेखेको नयाँ गीत ‘नसुनाऊ मलाई धेरै झुटा तिम्रा कुरा’ आफ्नै धूनमा सुनाए। आभासले दुई दशकदेखि मासिक सांगीतिक शृंखला ‘पलेँटी’ संयोजन गर्दै आएका छन्। उनको ‘भूगोलमाथि उभिएको जैतून’ कविता संग्रह प्रकाशित छ।

पब्लिकेसन नेपालयले सन् २०२५ मा अनुवादका चार पुस्तक प्रकाशन गरेको जनाएको छ। पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, “भारतीय लेखक फणीश्वरनाथ रेणुको ‘सात सालको कथा’, नोबेल पुरस्कार विजेता मो यानका छानिएका कथा, नारायण वाग्लेको ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद र अहिले शरत्चन्द्र चट्टोपाध्यायको उपन्यास ‘शेष प्रश्न’ प्रकाशन गरेका छौँ।”

शरत्चन्द्र चट्टोपाध्याय संसारभरि धेरै पढिने लेखकहरूमध्ये पर्छन्। उनका कृतिहरू ‘देवदास’मा आधारित भएर दर्जनौं सिनेमा तथा शृङ्खला बनेका छन्।

नेपालीमा अनूदित ‘शेष प्रश्न’ देशका प्रमुख पुस्तक पसलहरूका साथै अनलाइन स्टोर thuprai.com (थुप्रैडटकम) वा अमेजनमार्फत पनि किन्न सकिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *