इलाममा बाढीपहिरोले ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति

फिक्कल (इलाम) । गत असोज १८ र १९ गतेको वर्षापछिको बाढीपहिरोले इलाममा रु. ११ अर्ब ८१ करोडभन्दा बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट सङ्कलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति विवरण आएको हो ।

सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई ६ अर्ब ९६ करोड ४५ लाखको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा रु ८५ करोड र ६ वटा भवनमा ४ करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पाँचवटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु दुई करोड ४७ लाख ३५ हजार ९५२ बराबरको क्षति भएको छ । त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको रु १३ करोड ४६ लाख ६९ हजार, पाँचवटा पहिरो नियन्त्रण आयोजनाको रु एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा रु १७ करोड ७१ लाख ५९ हजारबराबरको क्षति भएको छ ।

त्यसैगरी, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रअन्तर्गत दुई हजार ५२० वटा पशुपन्छीमा रु दुई करोड ३५ लाख ७६ हजार र दुई सय ४४ वटा गोठ र पोखरीमा रु एक करोड ९७ लाख ५४ हजारबराबरको क्षति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा रु २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापाअन्तर्गत २ सय २३ आयोजनामा रु २८ करोड १ लाख बराबरको क्षति भएको प्रजिअ नेपालले जानकारी दिइन् ।

त्यस्तै, कषि ज्ञान केन्द्रअन्तर्गत तीन हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदेबालीमा रु २७ करोड ४९ लाख ९५ हजार ७५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा रु चार करोड ७५ लाख ५० हजारबराबरको क्षति भएको छ ।

नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु पाँच लाख आठ हजार र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट रु ३२ करोड ९० लाख १६ हजारबराबरको क्षति भएको छ । (रासस)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *