बेपत्ता युवकको शव खोलामा भेटियो, २ जना पक्राउ
झापा। झापाको शिवसताक्षी नगरपालिका–१० माईधारबाट केही दिनदेखि कारसहित बेपत्ता भएका सरोज शर्मा मृत अवस्थामा फेला परेका छन्।
उनको शव झापा गाउँपालिका–५ र बाह्रदशी गाउँपालिका–२ को सिमानामा रहेको बिरिङ खोलाको पुलमुनि भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कालो प्लास्टिकले बेरिएको अवस्थामा लगभग सडेको शव भेटिएको हो। २–४ दिनअघि नै हत्या गरेर गाडिएको हुनसक्ने आशङ्का गरिएको छ। प्रहरी टोलीले शनिबार बिहान शव गाडिएको ठाउँबाट निकालेको छ।
यसैबीच, शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार नै पक्राउ गरेको थियो।
शर्माको हत्यामा ४–५ जनाको संलग्नता रहेको आफन्तले दाबी गरेका छन्। शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
