शकुन आँशुका कवितामा माटोको प्रेम र नारी विद्रोह
कसैले देखेको देश र कसैले बाँचेको देश, कसैले महसुस गरेको देश र यथार्थको देश अवश्य समान हुन सक्दैन। उसो त कसैले देखेको जीवन र बाँचेको जीवन, इच्छाइएको जीवन र बाँचिरहेको यथार्थ बिल्कुल फरक हुन्छ। मान्छे भएको नाताले अनुभूति फरक हुन्छ र लेखकको सिर्जनामा पनि कहीँ न कहीँ सोही कुरा झल्किन्छ नै। स्वाभाविक पनि हो।
खोटाङदेखि उदयपुर, गाइघाट हुँदै प्रवाससम्मको यात्रा, विद्यार्थी हुँदै शिक्षक, रेडियोकर्मी र कामदारसम्मको अनुभव, अनुभूति, किराँती कुलको छोरी हुँदै, जिम्मेवारीको अजङ्गको पहाड उठाउँदै अनेक घुम्ती, बाटो, दोबाटो, नदी, साँघु, समुन्द्र तर्दै गर्दा बाँचेको अन्तरङ्गमा सिर्जित एउटा सुन्दर कविता सङ्ग्रह हो “नवयुगकी सुम्निमा”।
यो कविता सङ्ग्रहमा जीवनको उकालो-ओरालो, आरोह-अवरोह, घुम्ती र मोडहरू, आन्दोलन र क्रान्ति तथा प्रेम र पहिचानको वकालत गरेकी छिन् कवि शकुन आँशुले। उनका कविताहरूमा प्रायजसो प्रेमले ओतप्रोत, विछोड र समर्पण भेटिन्छ। उनी आफ्ना कवितामा अगाध प्रेम पस्काउँछिन्, बिछोडको तिक्तता र समर्पण व्यक्त गर्छिन्। उनका कविता सरल, सरस र मीठा बिम्बहरूले बुनिएको सुन्दर बुट्टे रुमाल हो।
उसो त शकुनका कवितामा पहिचानको वकालत भेट्न सकिन्छ। उनी आफ्नो धरातल, पितृपुर्खा, गाउँ परिवेश मीठो शैलीमा पस्किन्छिन्। उनी आफ्नो संस्कार, संस्कृतिलाई निकै प्रेम गर्छिन् भन्ने प्रस्ट देखिन्छ। कवितामार्फत सद्भाव सहितको समाजको परिकल्पना गर्छिन्। हाम्रो देशको सांस्कृतिक विविधता नै सौन्दर्य हो। तर, यो बहुसंस्कृतिमा अझै पनि एकल नश्लवादको कसरी हाली मुहाली चलिरहेछ ? यसमा कवि प्रश्न गर्छिन्, खबरदारी गर्छिन्। कविले कवितामा समान सांस्कृतिक सम्मान र सामीप्यता खोज्छिन्।
कविता सुन्दर हुनलाई बिम्बहरूको थुप्रो मात्र भएर हुँदैन। कवितामा बिम्ब, शैलीको साथै स्पष्ट धारणा र विचार पनि हुनुपर्दछ। त्यस अर्थमा कवि बिम्ब, शैलीको साथै स्पष्ट रूपले परिवर्तनको पक्षमा उभिएकी छिन्। उनी जातीय विभेद, लैङ्गिक विभेद, महिलामाथिको थिचोमिचो, वर्गीय विभेद, पितृसत्तात्मक शासनको खरो विरोध गर्छिन्। चाहे “आधा आकाश” कवितामा होस् चाहे “पितृसत्ता” कवितामा, यो उत्तर आधुनिक समाजका महिलाहरूको विडम्बना स्पष्ट प्रस्तुत गरेकी छिन् कविले। कविले भुइँमान्छेको सङ्घर्ष र पीडा मात्र पोखेको छैन, आम किनारीकृत वर्गलाई उठ्ने हौसला पनि दिएकी छिन्। उनी लेख्छिन्:
फुकाएर समाजले बाँधिदिएको घाँटीको सुँजेरो
फेर्नु छ आवेगको श्वास
बहनुछ भावनाको डुङ्गामा म पनि
हाँस्नु छ आधा आकाश चर्कने गरी
र मान्छे हुनुको सौन्दर्य दिनु छ
माथिको कवितांशले महिलाहरूलाई जाग्नुपर्छ भनेर प्रेरणा दिन्छ । यति हुँदा हुँदै पनि आधा आकास, नारी धर्ती जस्ता पुराना बिम्बहरू परिवर्तन गर्ने कि ? भन्ने मेरो धारणा हो । सिङ्गो आकाश किन नलेख्ने ? भावनाको डुङ्गाको ठाउँमा यथार्थको डुङ्गा बनाए के फरक पर्थ्यो ? यो त नितान्त मेरो धारणा हो । कविको कविता सिलसिलेवर आफ्नै छ । उनको कवितामा प्रतिरोधी चेत पाइन्छ ।
हजुरसँग,ऊ गएको साँझ, आँसु उत्सव, दोभान जस्ता कविताहरू यस सङ्ग्रहको मिठा प्रेम कविताहरू हुन् । बिम्ब शैली सुन्दर ढङ्गले खिपिएका छन् । आधा आकास, पितृसत्ता, फूलको विद्रोह जस्ता कविताहरूले आम महिलाहरूको यथार्थ चित्रण गर्दै अब जाग्न आह्वान गर्छ । यस सङ्ग्रहको सबैभन्दा मिहिन तरिकाले खिपिएको साच्चै उत्कृष्ट कविता “नोस्टाल्जिया” कविता हो ।
पहिचानको नाममा पछिल्लो समय भैरहेको आरोप, प्रत्यारोप, आक्षेप, कटाक्ष यत्रतत्र छ । सामाजिक सञ्जाल अझ भनौ फेसबुके विद्वान र न्यायाधीशको त झन कुरै नगरौँ । खास पहिचान संरक्षण गर्ने हो । न कि अरुको पहिचान हस्तक्षेप या कटाक्ष गर्ने होइन । तर बिडम्बना भाइ फुटे गवाँर लुटे भन्ने उखान झैँ भाइभाइबीच यहाँ लुछाचुँडी र लडाइँ छ । रमितेहरू ताली मात्र बजाइरहेको होइन खोला धमिल्याउने र माछा मार्ने दाउमा छन् । यो सङ्क्रमणकालीन परिवेशमा कविले आफ्नो साकेला, माछाकुमा, होमासा, नोस्टाल्जिया जस्ता सांस्कृतिक सन्दर्भसहित किराँती समुदायको सौन्दर्य र संस्कृतिलाई शब्दहरूमा भण्डारण गर्ने जमर्को गरेकी छिन् ।
“नवयुगकी सुम्निमा” भित्रका कविताहरू एक से एक छन्। कविले यी कविताहरूमा कसैको छहारीमा ओत लागेको भन्दा नि आफ्नै परिचय बनाउन खोजेको देखिन्छ। कविताहरू उत्कृष्ट हुँदाहुँदै पनि लेख्दा लेख्दै कवि कतिपय कविताहरूमा निकै भावुक भएको भेटिन्छ। निराशामा निकै डुबेको भेटिन्छ। सिर्जना हो, स्वाभाविक हो, जीवनको भोगाइहरूमा निराशा, उल्लास। तर साहित्य समाजको पथ प्रदर्शक पनि भएको नाताले सकभर निराशाहरू दबाएरै जाँदा अझ उत्कृष्ट हुन सक्ने सम्भावनाहरू हुन्छन्।
‘दुखाइ’, ‘पर्यटक’ जस्ता कविताहरू तुलनात्मक हिसाबले वर्णनात्मक कविता हुन्। यी कवितालाई सटिक र बिम्बात्मक बनाइएको भए अझ सुन्दर बन्ने ठाउँ देखिन्छ। कतिपय कविताका लाइनहरू नभइदिँदा झन् सुन्दर हुने जस्ता स-साना कमजोरीहरू भेटिन्छन्। कतिपय ठाउँमा कविता सुन्दर हुँदाहुँदै पनि बिम्बको अर्को अर्थ लगाई प्रयोग गर्दा अलि विवादास्पद जस्तो भेटिन्छ। जस्तै “हिउँद र हिम सम्झनाहरू” कवितामा कविले लेख्नुभएको छ:
त्यहीँ बेलादेखि लागेको हो हिउँको रङ कालो आँसुको रङ रातो
त्यसपछि ऋतुहरूसँगै बदलिन सिकें…
यी माथिका लाइनहरू कताकता के नपुगेजस्तो भान हुन्छ। कालो रङलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ। जसरी हामी समानताको कुरा गर्छौं, त्यसरी नै रङहरूमा पनि विभेद हुनुहुन्न। सबै रङको आ-आफ्नै अस्तित्व र सुन्दरता छ।
अझ एउटा मेरो मनमा खड्किरहेको कुरा चाहिँ कविता सङ्ग्रहको नाम “सुम्निमा” या अरु केही भएकै भए नि हुन्थ्यो। सुम्निमा आफैँमा एक इतिहास हो, किराँती पुर्खा चेली हुन्। अनि सुम्निमाको अगाडि “नवयुग” फुर्का जोड्न के आवश्यक होला र ? आफैँमा अहिले प्रकाशित गरेपछि, यस समयको परिवेश समेटिएपछि यही युगको भन्ने त बुझिहालिन्छ नि जस्तो चाहिँ लाग्छ। समग्रमा लयत्मक तरिकाले कविता बगेको छ।
वास्तवमा कविता लेख्नु र प्रकाशन गरी पाठकसम्म लैजाने हिम्मत गर्नु निकै ठूलो चुनौती हो र त्यो चुनौती मोल्ने हिम्मत गरी कवि शकुन आँसु नेपाली काव्य जगतमा आशा लाग्दो गरी उदाएकी छिन्। कविलाई निरन्तर लेखनको शुभेच्छा!

यसै गरी कविज्युका लेख रचना पढिरहन पाइयोस् ।