मौसमको घात र यात्राको मर्म
मनमा उमङ्ग बोकेर, शुभसाइतमा यात्राको पाइलो सारेर घरबाट निस्किएका यात्रीहरूको त्यो समूह, जसले सोचेको थियो- ‘बल्ल मौसम खुलेको छ, अब प्रकृतिको मुटु छुने बेला आयो ! अब प्रकृतिलाई अङ्गालोमा बेरेर अघाउन्जेल ‘प्रकृति-रमण’ को आनन्द लिन पाइने भयो ।’
परन्तु त्यो उल्लासमय मन अनायासै ओइलाउन बाध्य बन्यो । त्यो खुसीको पलले एकाएक टल्किरहेको आँसु झार्न बाध्य भयो । शुभसाइतको यात्रा अन्ततः कुसाइतको पो हुन पुग्यो । जब मौसमले घात गऱ्यो । जब यात्राको पाइलामा ठेस नलाग्दै यात्रा अवरुद्ध हुन पुग्यो । मौसमको घातले यात्राको मर्मलाई कुठाराघात गरिदियो ।
हिमालका टाकुरा र छातीहरूमा, पहाडका कन्दराहरूमा, हरियालीका फाँटहरूमा र नीलो आकाशको विशालतामा आफूलाई हराउन आतुर ती पदयात्रीहरूका पाइलाहरूमा गजबको उत्साह थियो । त्यो उत्साहमा सजिलै हिमालै चढ्ने साहससमेत छचल्किरहेको थियो । सहजै नदीमा बाँकटे हानेर पारि पुग्ने लक्ष्य थियो । कुनै अवरोधले रोक्न नसक्ने दाबी थियो । तर प्रकृतिको सामुन्ने मानिसले के गर्न सक्छ र ? जोरी खोजे आफैँले मृत्युवरण गर्नुपर्छ ।
यद्यपि सफा मौसमको आगमनले नै यात्राको निम्तो दिएको थियो । यात्राको प्रारम्भ साँच्चिकै सुखद थियो । हिँड्ने पाइलाहरूले हिँड्ने हिम्मत जुटाएका थिए । देख्ने आँखाहरू देख्नलाई आतुर भइरहेका थिए । बिहानीको न्यानो घामले शीतका थोपाहरूलाई हीराझैँ टल्काइदिएको थियो । चराहरूको चिरबिर आवाजले सङ्गीत भरेको थियो । जताततै फूलहरू फुलेर सौन्दर्य-सुगन्ध मगमग फैलाइरहेको थियो ।
हर्षोल्लासको वातावरण भित्रिएको थियो । सबै कुरा सुन्दर र सरल लागिरहेको थियो । मानौँ प्रकृतिले नै उनीहरूलाई बाटो देखाइरहेकी थिइन् । तर, जीवनका मोडहरूमा जस्तै, यात्रामा पनि अनपेक्षित पाहुनाहरू आइपुग्दा रहेछन् । घात-प्रतिघातका घोचाघारी तगारोहरूले बाटै बिलाइदिन सक्ने रहेछ । सौन्दर्यका सोपानहरूलाई नै गायब गर्न सक्ने रहेछ । हिँड्ने आँटलाई पनि तुरुन्तै रोकिदिन सक्ने रहेछ ।
आकाशमा अचानक बादलका काला झुन्डहरू देखापर्न थाले । सूर्यको तेज क्षणभरमै मधुरो भयो र वातावरणमा चिसोको गहिरो सन्नाटा फैलियो । अनि, भयो त्यही जुन हुनु नपर्ने थियो । अर्थात् अँध्यारोसँगै झरी झर्न थाल्यो । हिउँ बर्सिन थाल्यो । मुसलधारे पानी र लगातारको सिरेटो मिसिएको पानीले खुलेको मौसमलाई फेरि एकाएक मैल्याएर कालोमुस्लो भएभरको बादल बटुलेर ‘धमिलो’ बनाइदियो ।
अन्ततः प्रकृतिले यात्रीलाई निथ्रुक्क पारिदियो । यात्री भिजेपछि, यात्री हिउँले पुरिएपछि यात्राका पाइलाले कहाँ टेक्नु ? के देख्नु ? सेताम्मे हिउँको कठिङ्ग्रिँदो चिसो साम्राज्यले ग्वाम्ल्याङ्ग बेरेपछि हलचल गर्न नसकिने स्थिति बन्यो ।
पानी परिरहेको बेला नै, उच्च भेगबाट अचानक सेतो भुवाको वर्षा हुन थाल्यो । त्यो केवल पानी थिएन, त्यो थियो हिमपात । हिउँका नरम, शीतलता बोकेका फूलहरू झर्न थाले । एकैछिनमा चारैतिरको दृश्य बदलियो, हरियो रङमाथि मैलो-धैलो खास्टो ओढाइयो । खास्टोले छोप्नु के थियो, खुलेको मौसम थला पऱ्यो ।
दिनदहाडै हेर्नु, देख्नुको औचित्य समाप्त भइदियो । के हेर्नु, के देख्नु, के रमाउनु ? सबै राम-रमाइला पाटाहरू परमधाम भए । प्रकृति धुरुधुरु रुन थाल्यो । आँसुको पानी बर्साएर घरबाहिरका यात्रीलाई पार्नुसम्मको बिचल्लीको अवस्थामा पुऱ्याइदियो । कतिका तयारी अलपत्रै पऱ्यो । कतिका योजना भताभुङ्ग बन्यो ।
कति राम्रो हुन्थ्यो, ए झरी नझरेको भए ! कति सुन्दर बन्थ्यो प्रकृति, अब हिमपातको निरन्तरता कम भइदिए !
यात्रीहरूको मनमा यही एउटा गुनासो र प्रार्थना गुञ्जिरहेको थियो । भगवान् पुकारिरहेका थिए । घरपरिवार सम्झिरहेका थिए । हिजोको खुल्ला मौसम झलझली याद गरिरहेका थिए ।
हुन त, हिमपात हेर्नु, हिमपातको अनुभव गर्नु रमाइलो थियो । एक किसिमको अनौठो दृश्य, शान्ति र शीतलता महसुस हुन्थ्यो । अपितु हिँड्ने बाटै ढाकेर, देख्ने दृश्य नै लुकाएर लगातार चिसो हिउँको झटारोले झापट हान्दा रमाइरहेको मन एक्कासि धर्धरी रुन थाल्दोरहेछ । भिजेका लुगा धमाधम चिसिँदै जाँदा, खानुपर्ने कुरा महङ्गिँदै गर्दा कतिन्जेल धैर्यले बस्नु ? धैर्यको बाँध फुट्न लागिरहेको थियो । यसरी बस्ने र खाने ठाउँको अवस्था कठिन बन्दै जाँदा विजोगको पराकाष्ठा निम्तिरहेको थियो ।
यसरी यो क्षणिक रोमान्स चाँडै नै असहज यथार्थमा बदलिँदाको परिणाम अति अप्रिय भइदियो । हिँड्ने बाटा कतै भास्सिए, कतै पुरिए, कतै पहिरोसँगै बगे । गाडी गुड्ने सडकहरूको अवस्था पनि त्यस्तै भयो । कति ठाउँमा बाटाहरू चिप्ला भए, कति ठाउँका बाटै हिउँले पुरिए । हिँडेर आएको बाटो हिमाल बन्यो । हिउँको बाटोमा सजिलै सुविस्ताले हिँडेर गन्तव्य पुग्न सकिने सम्भावना टाढिएर गयो । यात्राका सारा सपनाहरू कचपल्टिएर गए ।
पाइलाहरू टसको मस हुन छाडे । घुम्ने र रमाउने उद्देश्य बोकेका यात्रीहरू बाटोमै ‘अलपत्र’ परे । कोही होटलमै थन्किए, कोही ओत लाग्दै गर्दा त्यहीँ भिजेर बिजोग व्यहोर्न विवश भए । अगाडि बढ्ने सबै ढोका बन्द भए, फर्किने बाटो पनि हिमपातले छेकिदियो ।
यो यात्राले एउटा गहिरो पाठ सिकायो- प्रकृतिसँगको प्रेममा नियन्त्रणको अपेक्षा गर्न सकिँदैन । प्रकृतिसँग धेरै नजिकिनु हुँदैन । प्रकृतिसँग धेरै जिस्किनु पनि हुँदैन । प्रकृतिलाई उसकै प्राकृतिक रूपमा रहन दिनुपर्छ । प्रकृतिलाई हेप्नु हुँदैन ।
हिमपात कति रमाइलो, तर हिँडडुल नै बन्द ! यही नै त हो यात्राको भावनात्मक द्वन्द्व ! सुन्दरताले नै जब बाधा बन्छ, तब मनमा एक प्रकारको मीठो पीडाबोध पनि हुँदोरहेछ ।
अलपत्र परेका यात्रीहरूलाई थाहा भयो, जीवन आफैँमा एउटा यात्रा हो । यसमा उकाली-ओराली, घाम-पानी र खुल्ने, धमिलिने मौसम आइरहन्छ । गन्तव्यमा नपुगे पनि, यो अप्रत्याशित ‘धमिलो मौसम’ ले दिएको अनुभव अमूल्य छ । आशा र निराशा, सुखद र असहज अनुभवहरूको मिश्रण नै त हो, जीवनको यात्रा । यद्यपि मौसमले घात नगरिदिए यात्राको मर्मले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने थियो ।
