इलामको देउमाईमा गाडी र मोटरसाइकल ठोक्किँदा १० जना घाइते
इलाम । इलामको देउमाई नगरपालिका–१, कुखुरेस्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज बिहीबार बोलेरो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
तेह्रथुमबाट झापातर्फ आउँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र इलामबाट पाँचथरतर्फ जाँदै गरेको प्र–१–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल ठोक्किएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक १ जना र बोलेरोमा सवार ९ जना गरी १० जना घाइते भएका छन् ।
घाइते सबैलाई उद्धार गरी तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको छ । झापा बिर्तामोडकी सुशीला तिमल्सिनाको भित्री चोटका कारण बोल्न नसक्ने अवस्था रहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य छ ।
बोलेरो चालक तेह्रथुम आठराई गाउँपालिका–२ बस्ने २६ वर्षीय रबिन तामाङलाई प्रहरी चौकी रक्सेले नियन्त्रणमा लिएको छ ।
