सूर्योदय नगरकी कर्मचारी रूपा राईको निधन
इलाम। सूर्योदय नगरपालिका कार्यालयकी कर्मचारी रूपा राईको सवारी दुर्घटनापछि उपचारका क्रममा निधन भएको छ।
गत शनिबार दिउँसो करिब ४ बजे सूर्योदय नगरपालिका–१०, आहाले नजिकै अटो र पिकअप भ्यान ठोक्किँदा राई गम्भीर घाइते भएकी थिइन्।
उनलाई बिर्तामोडस्थित बि एन्ड सी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि फिक्कल अस्पताल ल्याइएको थियो।
फिक्कल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको ‘पल्स’ भेटिएपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल मा लगिएको थियो।
सोमबार बिहान करिब ४ बजे उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले सरलपत्रिकालाई जानकारी दिए।
उनी दुर्घटनामा परेर घाइते अवस्थामा रहेकै बेला कतिपयले निधन भइसकेको भन्दै सामाजिक सञ्जालमा ‘श्रद्धाञ्जली’ लेखेका थिए। त्यसको व्यापक आलोचना भएको थियो।
