‘अभ्यर्थना होइन, अर्चना गर जीवनको’

तिहारको उत्सव सकिएको छ। तर यसको थकाइ, हँसाइ र नचाइको छाप बाँकी नै छ। तिहारलाई फुर्सदको पर्व भनिएला, तर वास्तविकतामा यो त्यस्तो होइन। कामको अनेक झमेलाले गर्दा एकछिन फुर्सद मिल्दैन। कहिले बजारमा किनमेलको हतारो, कहिले घरमा पकाउने, थन्क्याउने, खाने र सफासुग्घरको झन्झट। कहिले पाहुनापासाको स्वागत, कहिले बारीका फूल टिप्नु, माला उन्नु, टपरी गाँस्नु, माकुराका जाला फाल्नु, कुनाकाप्चाका फोहोर निकाल्नु आदि। कामको टिपोट गरिसाध्य हुँदैन, नगरी पनि हुँदैन। काम गरेर भ्याइनभ्याइ नै हुन्छ। बासी खानेकुरा कति र कहिलेसम्म खानु, कति बाँड्नु, कति फाल्नु?

यसपालिको तिहारमा मौसमले साथ दियो। रङ्गरोगन गरिएको घर र पखालपुखुल पारेको बाटोघाटोलाई स्वात्तै बगाइदिएन। भेटघाट र भलाकुसारीहरू भए। परन्तु, भित्रैबाट खुसीका उमङ्गहरू उत्साहले जुर्मुराउन सकेनन्। आकाशमा चरा जस्तै अकासिँदै चङ्गा उडिरहेको देखिएन। भैले र देउसेको नाचगानले रातभर जाग्राम बसाएन। बरु फाट्टफुट्ट पटका पड्किए। धेरैमा आशाभन्दा निराशाले राज गरिरहेको महसुस भयो।

यद्यपि, जीवनका चाडपर्व रमाइलोका अवसर मात्र होइनन्, ती आत्माका उज्याला पनि हुन्। समयसँगै मानवीय संवेदनाको पुनःप्रज्वलन हुन्। त्यसैमध्ये तिहार, नेपाली मनको सबैभन्दा रङ्गीन उत्सव हो– जहाँ फूल फुल्छ, रङ बोल्छ, धूप-दीप बल्छ, अनि त्यसमा हाम्रा आत्मा झल्किन्छन्। यो साता आत्माको उत्सवको रूपमा रङ्गीन उज्यालो पर्व मनाइएको छ। दाजुको माया र भाइको श्रद्धा पाएर दिदीबहिनीको निन्याउरो अनुहारमा मृदु मुस्कानसहित अलिकति खुसीको छचल्कन देखिएको छ।

शरदको निर्मल आकाशमुनि जब बगैँचामा सयपत्रीको रातो, पहेँलो, गोदावरीको सेतो, धानबारीको सुनौलो सुगन्ध मिसिएर हावामा तैरिँदै फैलिन्छ, लाग्छ– प्रकृतिले आफैँ तिहारको बिस्कुन सुकाएर सबैलाई त्यसमा सहभागी हुन निम्त्याइरहेकी छन्। ती फूलहरू देवताका लागि मात्र होइनन्, ती फूलहरू दिदीबहिनीका प्रेमका पवित्र माला हुन्। ती माला आफ्ना दाजुभाइको गलामा लगाइएका हुन्छन्। किनभने, थकाइ र निराशाका दिनमा पनि फूल फुल्नु, यही त सबैभन्दा ठूलो अभ्यर्थना र अर्चना हो। जीवनप्रतिको आस्था हो। चेली र माइतीबिचको प्रगाढ सम्बन्धको भावनात्मक विम्ब पनि हो।

फूलहरूसँगै रङहरू पनि फैलिन्छन्– दाजुभाइको निधारमा सप्तरङ्गी टीकाको रूपमा, भित्तामा चित्रको रूपमा र मुटुमा आशाको रूपमा। जब भोक, अभाव र विस्थापनका बीच पनि दिदीले भाइको निधारमा टीका लगाउँछिन्, त्यो केवल संस्कार हुँदैन– त्यो देशभित्रको अदृश्य आत्मीयताको प्रतिज्ञा र प्रतिबद्धता हुन्छ। अहिलेका कठोर समयले धेरै कुरा हरायो– तर रङ र फूलले अझै पनि मान्छे-मान्छेबीचको माया बाँडिरहेका छन्।

दीप-बत्ती बल्ने बेला देशभर उज्यालो छ, तर त्यो उज्यालो बिजुलीको होइन– हृदयको उज्यालो हो। जुन उज्यालो लोडसेडिङका युगमा पनि निभेन, राजनीति र विभाजनका आँधीहुरीमा पनि निभेन। आज पनि गाउँका पिँढी-बलेसीहरूमा, सहरका छानामाथि, कच्ची घरका दैला-जस्केलाहरूमा बातीको दियो बल्दा लाग्छ– निराशा जितेर पनि आशा बाँकी छ। त्यो दीप हाम्रा थाकेका आँखाको प्रार्थना हो– ‘देश, हाम्रो उज्यालो रहोस्!’

तिहारले हामीलाई अभ्यर्थना र अर्चना देवतालाई मात्र होइन, मानव जीवनलाई पनि गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। हामी र हाम्रो वरिपरिका सबै मानिस नै आजका साक्षात् देवता हुन्। तिनीहरूको सङ्घर्षलाई सम्मान गर्नु नै त साँचो अर्चना हो। तर ती मानिसमा संवेदना हुनुपर्छ। सहयोगी भावना र शुभेच्छुकको हृदय हुनुपर्छ। मान्छे भएपछि मान्छे जस्तै रातो रगत आउने सबैको सम्मान गर्नुपर्छ।

रङ, फूल र दीपको यो उत्सवमा हामीले आफ्नो भित्रको अन्धकारसँग गर्नुपर्ने सामना थाहा छैन कति र कसरी गऱ्यौँ? किनभने दीपको अर्थ उज्यालो प्रदान गर्नु मात्रै होइन, अन्धकारसँगको सह-अस्तित्व कायम राख्न सक्नु पनि हो। जब समाजमा निराशा, भ्रष्टाचार र अन्यायको धुवाँ गहिरिँदै जान्छ, त्यही बेला एउटा सानो दीप पनि सगरमाथा बराबर उचाइको अर्थ बोकेर बल्नुपर्छ। त्यो दीप नै हाम्रो चेतनाको उद्घोष हुन्छ।

तिहारको रातमा देश झिलिमिली भयो। धेरैका महल, भवन र घरसँगै झुपडीभित्र पनि उज्यालो चमक देखियो। केही महिनाअघि अग्निज्वालाको दन्दनीमा जलेर खरानी-खरानी भएको देश धन्न-धन्न तिहार मनाउन पायो। देश बनाउँछु भन्ने हुलले देश खरानी बनाइसक्दा पनि हाँस्न सक्ने अगुवाहरूलाई कुनै लाजशरम लाग्दैन रहेछ। त्यो उज्यालो देख्दा मनमा खुसीका साथै प्रश्न पनि जाग्यो। ‘के यो चमक मान्छेका मन र मुटुमा पनि छ?’

यद्यपि उत्तर त्यहीँ भेटिन्छ– दिदीले लगाइदिएको निधारको सप्तरङ्गी टीका, आमा-बुबाको दिव्य आशीर्वाद, सयपत्रीको माला, बालबालिकाको दियो बाल्ने हर्षोल्लास। यी सबैले भन्छन्– ‘अँ, अझै उज्यालो बाँकी छ, अझै आशा बाँकी छ।’

त्यसैले तिहार चाड मात्र होइन, यो आत्माको पुनर्जागरण हो। फूलको कोमलता, रङको उल्लास र बत्तीको ज्योति सँगालेर हामी फेरि उठ्ने सङ्कल्प गर्छौं– न तिर्खा मेट्नका लागि, न चाहना पूरा गर्नका लागि, तर आफ्नो देश, समाज र आत्मालाई फेरि उज्यालो बनाउनका लागि।

निख्रिँदै गएको तिहारको रङ अझै वर्तमान नै छ, निवर्तमान भइसकेको छैन। निधारको सप्तरङ्गीको रङ अझै आलै छ। गलामा मालाको सुवास लुगामा मगमग बाँकी नै छ। मिठाइ, मसला खान बाँकी नै छ। अन्ततः यतिबेला तिहारले भन्छ– ‘अभ्यर्थना होइन, अर्चना गर जीवनको!’

किनभने अन्धकारबीच पनि एक दीप बल्न सक्छ र त्यो दीप बल्नु नै अस्तित्वको विजय हो। कहिलेकाहीँ आगोले देश जलाउने मात्र होइन संस्कार, संस्कृति र सौन्दर्यको पर्दा पनि खोल्न सक्छ। केवल प्रयोगकर्ताको विवेकमा भर पर्ने कुरा हो। तिहारको रङ्गरोगनलाई जीवन्त पार्न बत्तीको भूमिका कति आवश्यक र अनिवार्य भयो भन्ने कुरा भर्खरै हामीले महसुस गरेकै हो। त्यसैले तिहार हामी सबैका निम्ति हाँस्नु, भेट्नु, खानु र खुसी साट्नुको नियमित शृङ्खलासँगै बाँच्नुको सानो पल पनि त्यहाँ निर्भय सुरक्षित रहिरह्यो भने त्यो सबैभन्दा ठूलो उत्सव हुनेछ। त्यो नै वस्तुतः तिहारको अभ्यर्थना र अर्चना हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *