इलामका सुरक्षागार्डको मोरङमा ‘शंकास्पद मृत्यु’

विराटनगर। इलामको सन्दकपुर घर भएका एक जना सुरक्षागार्डको मृत्यु शंकास्पद देखिएको छ । परिवारलाई थाहै नदिइ पोस्टमार्टम गरिनु लगायत कारणले उनको मृत्यु घटना प्रश्नको घेरामा परेको हो।

मोरङको बुढीगंगा गाउँपालिका-५ स्थित वाइस नो मार्बल फ्याक्ट्रीका सुरक्षा गार्ड निरबहादुर राई बुधबार मृत फेला परेका थिए। ‘आत्महत्या’ भनिएको घटनाले अहिले गम्भीर मोड लिएको छ।

परिवारले उनको हत्या भएको आरोप लगाएको छ। प्रहरीको अनुसन्धान प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ। परिवारलाई जानकारी नदिई र उनीहरूको रोहबरबिनै शवको पोस्टमार्टम गरिएपछि घटना शंकास्पद मानिएको छ।

इलामको सन्दकपुर गाउँपालिका-१ का ४४ वर्षीय राई फ्याक्ट्री परिसरमा मृत भेटिएका थिए। इलाका प्रहरी कार्यालय नेमुवाले प्रारम्भिक अनुसन्धानपछि राईले ‘फलामको बलोमा बेल्टको पासो लगाई आत्महत्या’ गरेको जनाएको थियो।

मृतकका आफन्तहरूले प्रहरीको दाबीलाई अस्वीकार गरेका छन्। मृतकका भतिजा प्रकाश थुलुङका अनुसार पोस्टमार्टमको प्रक्रिया नै शङ्काको घेरामा छ ।

‘घटनाको जानकारी परिवारलाई ४ घण्टासम्म नदिइनु, प्रहरी वा प्रशासनबाट होइन, फ्याक्ट्रीबाट फोन आउनु, र श्रीमतीसँग मात्र सल्लाह गरी शव उठाउनुले वास्तविकता लुकाउन खोजिएको स्पष्ट देखिन्छ,’ थुलुङले भने।

बिहीबार परिवारका सदस्य र वडाध्यक्षसहितको टोली जाहेरीसहित पोस्टमार्टमका लागि कोशी अस्पताल पुगेको थियो । उनीहरूले शव हेर्न खोज्दा अस्पतालका कर्मचारीले आनाकानी गरे । धेरै कर गरेपछि थाहा भयो, कानुनी प्रक्रिया पूरा नगरी नै पोस्टमार्टम भइसकेको थियो ।

थुलुङले प्रहरीले दिइने अनुमतिपत्र आफूहरुको हातमा आउनुअघि नै परिवारको रोहबर र सहमति बिना शवको चिरफार गर्नु सरासर षड्यन्त्र भएको आरोप लगाएका छन् ।

परिवारले निष्पक्ष छानबिनको माग गर्दै चित्तबुझ्दो जवाफ नआएसम्म शव नबुझ्ने अडान लिएको छ । राईले उक्त कम्पनीमा काम गर्न थालेको भर्खरै १५ दिन मात्र भएको थियो ।

मोरङ प्रहरीले भने आफ्नो प्रक्रिया कानुनसम्मत रहेको जिकिर गरेको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले प्रमाण जोगाउनका लागि अनुसन्धानमा ढिलाइ गर्न नहुने बताइन् ।

उनका अनुसार प्रहरीले खबर पाउने बित्तिकै फरेन्सिक टोलीसहित घटनास्थलको मुचुल्का गर्न पुगेको थियो । मृतककी श्रीमती, प्रहरी टोली र स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाको उपस्थितिमा शव उठाइएको थियो।

पोस्टमार्टमको विषयमा उठाइएको प्रश्नमा भने प्रहरीले अस्पताललाई दोष दिएको छ। डीएसपी चुँडालले भनिन्, ‘शव अस्पतालको जिम्मा लगाएपछि उहाँहरूले कसरी पोस्टमार्टम गर्नुभयो, हामीलाई थाहा भएन। फरेन्सिक डाक्टरहरूले प्रमाण नहटोस् भनेर छिटो गरेको हुनुपर्छ। शरीरका बारेमा उहाँहरूको विशेषज्ञतामा हामीले प्रश्न उठाउन मिल्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *