एक होलान् माओवादी र नेकपा एस ?

काठमाडौं । लामो समयदेखि कम्युनिस्ट पार्टीहरूबीच एकताको प्रयास भइरहेका बेला नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरण हुने पक्का भएको छ । दुई पार्टीबीच नीति, सिद्धान्त र कार्यक्रममा सहमति भइसकेको छ ।

अब नेतृत्वको विषय टुङ्ग्याउने जिम्मा माओवादीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिइएको नेताहरूले बताएका छन् । स्रोतका अनुसार निर्वाचन आयोगमा दल दर्ताको समय सकिनुअघि नै औपचारिक रूपमा एकीकरण घोषणा गर्ने तयारी छ ।

यस्ता छन्  सहमतिहरू

सिद्धान्त र कार्यनीति: नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ रहनेछ । कार्यनीति ‘नेपाली विशेषतासहितको समाजवाद’ मा आधारित हुनेछ ।

पुरानो सिद्धान्तको परित्याग: यस सहमतिअनुसार, माओवादी केन्द्रले ‘माओवाद’ लाई छोड्नेछ भने नेकपा एसले ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई पूर्ण रूपमा परित्याग गर्नेछ ।

नयाँ पार्टीको नाम: ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी’ वा ‘नेपाली कम्युनिस्ट पार्टी समाजवादी’ मध्ये एक नाम राख्नेबारे छलफल भइरहेको छ । प्राविधिक पक्ष मिलाएर अन्तिम निर्णय गरिनेछ ।

नेतृत्व मोडालिटी: दुई अध्यक्षको पुरानो ढाँचालाई असफल मान्दै, ‘प्रचण्ड संयोजक’ र ‘माधव नेपाल सह-संयोजक’ बन्ने प्रस्ताव अघि सारिएको छ ।

वार्तामा संलग्न एक सदस्यका अनुसार झलनाथ खनाल र घनश्याम भुसालको भूमिकाबारे पनि सहमति भइसकेकाले अब एकतामा कुनै अवरोध छैन । प्रचण्ड र माधव नेपालबीच अन्तिम सहमति भएपछि नयाँ सचिवालय गठन गरेर पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *