सडकबाट बोलेरो खस्दा ३ जनाको मृत्यु

विराटनगर। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-६, भिरकुनामा बिहीबार साँझ एक बोलेरो गाडी दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार बागमती प्रदेश-०१-०३१ च ५९२५ नम्बरको बोलेरो साँझ करिब ६:३० बजे दुर्घटनाग्रस्त भएको हो। माप्य दुधकोशीबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको जीप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो।

दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार महाकुलुङ गाउँपालिका-३, छेस्कामकी १६ वर्षीया हबि राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मृत्यु भएको छ। तेस्रो मृतकको पहिचान भने खुल्न सकेको छैन।

गाडीमा चालकसहित जम्मा ११ जना सवार थिए। दुई जना सकुशल छन्। घाइते हुनेमा चार महिला र दुई पुरुष छन्। वाकुबाट पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी सोताङ प्राथमिक स्वास्थ्य अस्पताल पठाएको थियो।

घाइतेमध्ये १६ वर्षीय सामया राई र १० वर्षीय उमेश राई उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी चार जनालाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको छ।

फाप्लु पठाइएकाहरूमा श्रीध्वज राई (चालक), गंगा राई, बस्तीकला राई, सजना राई छन्। प्रहरीको प्रारम्भिक जानकारी अनुसार, जीपमा सवार सबै यात्रुहरू महाकुलुङ गाउँपालिकाका बासिन्दा हुन् र उनीहरू खुम्बु क्षेत्रबाट ट्रेकिङ सकेर घर फर्किँदै थिए। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *