इलाममा रहस्यमय घटना : शव गाडेकै रात चिहान खोतलिएपछि…

इलाम । इलामको रोङ गाउँपालिकामा एक अपाङ्गता भएका व्यक्तिको शव गाडिएकै रात चिहान खोतलिएको रहस्यमय घटनाले स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।

रोङ गाउँपालिका–२, लामकटेरीमा बिहीबार राति स्थानीय राम राईको चिहान खोतलिएको अवस्थामा भेटिएको हो ।

वडाध्यक्ष चन्द्रशेखर घिमिरेका अनुसार बालकुमार राईका २२ वर्षीय छोरा राम राईको बिहीबार निधन भएपछि किराँत संस्कृति अनुसार नजिकैको जग्गामा करिब ६ फिट गहिरो चिहान खनेर शव गाडिएको थियो ।

बिहान स्थानीयले चिहान खोतलिएको देखेपछि गाउँभर खबर फैलिएको थियो । शव व्यवस्थापनका लागि खाल्डोमाथि राखिएका ढुङ्गा र माटो झिकेर खाल्डो खोलिएको अवस्थामा भेटिएको स्थानीय शर्ण राईले बताए ।

घटनाबारे जानकारी पाएपछि भेला भएका स्थानीय, जनप्रतिनिधि र प्रहरीले चिहानको मुचुल्का खडा गरेका थिए । वडाध्यक्ष घिमिरेका अनुसार चिहान खोतलेर ढुङ्गा माटो सबै झिकिए पनि बाकस भित्रको शव भने जस्ताको तस्तै थियो । खाल्डो शुक्रबार पुनः पुरिएको थियो ।

स्थानीयवासीले रोङमै पहिलो र रहस्यमय मानिएको यस घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *