टी-२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो- नेपाल, ओमान र यूएई छनोट

काठमाडौँ। सन् २०२६ मा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी-२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ। ओमानमा जारी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा हिजो (बिहीबार) यूएईले जापानलाई आठ विकेटले हराएपछि विश्वकपमा सहभागी हुने टोलीहरूको समिकरण पूरा भएको हो।

नेपालको तेस्रो यात्रा

एसिया तथा इस्ट एसिया प्यासिफिक क्षेत्रबाट यसअघि नै नेपाल र ओमानले विश्वकपका लागि छनोट भइसकेका थिए। यूएई तेस्रो टिमको रूपमा छनोट भएको छ। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी-२० विश्वकप खेलिसकेको छ। यो नेपालको टी-२० विश्वकपको तेस्रो यात्रा हो।

आयोजक राष्ट्र भारत र श्रीलङ्काबाहेक, आईसीसीका शीर्ष सात वरीयताका टोलीहरू अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन्। टी-२० अन्तर्राष्ट्रिय वरीयताको आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

क्षेत्रीय छनोटबाट प्रवेश पाउने टोलीहरू:

एसिया/इस्ट एसिया-प्यासिफिक: नेपाल, ओमान र यूएई

अफ्रिका: नामिबिया र जिम्बाब्वे

युरोप: इटाली (पहिलो पटक सहभागी) र नेदरल्यान्ड्स

अमेरिका: क्यानडा

विश्वकपको ढाँचा (२०२६)

सन् २०२६ मा हुने टी–२० विश्वकम अघिल्लो संस्करण (२०२४) जस्तै ढाँचामा हुनेछ। जसमा:

२० टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ। हरेक टोलीले राउन्ड-रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन्। हरेक समूहबाट शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्।

नेपालको उपाधि भिडन्त आज

यसैबीच, आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट प्यासिफिक छनोटको सुपर-सिक्सको आफ्नो अन्तिम खेलमा आज (शुक्रबार) नेपालले सामोआसँग खेल्दैछ।

खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ। शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै छनोट प्रतियोगिताको उपाधि जित्ने अवसर छ।

हाल नेपाल चार खेलमा आठ अङ्कसहित पहिलो स्थानमा छ। सुपर सिक्समा कुनै पनि खेल जित्न नसकेको सामोआ पुछारमा रहेर बाहिरिसकेको छ।

दोस्रो स्थानमा रहेको यूएईले सबै पाँच खेल खेल्दै ६ अङ्क बनाएको छ भने तेस्रो स्थानमा रहेको ओमानको चार खेलमा ६ अङ्क छ। ओमानले आज जापानसँग खेल्दैछ। ओमानको पनि उपाधि जित्ने सम्भावना कायमै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *