कांग्रेस युवा नेताद्वारा महाधिवेशन माग, नभए कार्यसमिति विघटनको चेतावनी
काठमाडौँ। नेपाली कांग्रेस पार्टी सम्बद्ध युवा, विद्यार्थी र तरुण नेताहरूले पार्टीको १५औँ महाधिवेशन मंसिर मसान्तभित्र गर्नका लागि केन्द्रीय समितिसँग स्पष्ट कार्ययोजना माग गरेका छन्। तोकिएको समयमा महाधिवेशन सुनिश्चित गर्न नसके वर्तमान कार्यसमिति विघटन गर्नुपर्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
गत शुक्रबारको भेलाले तय गरेका निर्णयहरू समेटिएको ज्ञापनपत्र सोमबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाउँदै युवा नेताहरूले महाधिवेशन नै पार्टीमा युवा पुस्ताको सम्मानजनक सहभागिता, पुस्तान्तरण र रूपान्तरणको एकमात्र वैधानिक विकल्प भएको उल्लेख गरेका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “१५औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिका सहित मंसिर मसान्तभित्र कार्ययोजना ल्याउन आग्रह गर्दछौँ। अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग गर्दछौँ।”
युवा नेताहरूले ज्ञापनपत्रमार्फत देशको वर्तमान सङ्कटपूर्ण अवस्था, हालैको ‘जेनजी विद्रोह’ र त्यसपछि उत्पन्न हिंसात्मक घटनाक्रमबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले हालैको ‘जेनजी विद्रोह’को कारण देखाएर जननिर्वाचित सरकारलाई विस्थापित गर्ने र प्रतिनिधिसभा विघटन गर्ने कदमले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै यसको वैधानिक निकासका लागि पार्टीले नेतृत्व लिनुपर्ने आग्रह गरेका छन्।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसले अन्य संसदवादी दल र नागरिक समाजसँग संवाद गरी राजनीतिक पहलकदमी लिनुपर्ने माग युवा नेता दीपक भट्टराईले जानकारी दिए।
ज्ञापनपत्रमा आगामी फाल्गुण २१ गतेका लागि घोषणा भएको निर्वाचन मा पार्टीको सहभागिता र प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा आधिकारिक धारणा बनाउन पनि माग गरिएको छ।
युवा नेताहरूले जेनजीले युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध उठाएका मुद्दालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने औँल्याएका छन्।आन्तरिक अनियमितता छानबिन आयोग: यसका लागि पार्टीभित्रै ‘आन्तरिक अनियमितता छानबिन आयोग’ गठन गर्न माग गरिएको छ।
आयोगमार्फत २०४६ सालपछि पार्टीको सिफारिसमा विभिन्न तहको नेतृत्वमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न र भविष्यमा पार्टीबाट कुनै पनि जिम्मेवारी वा सार्वजनिक पदमा पठाउँदा पारदर्शिताको ‘क्लिन चिट’ अनिवार्य गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।
ज्ञापनपत्रमा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। विशेष गरी सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमण लाई ‘बर्बरतापूर्ण र साङ्घातिक हमला’ भन्दै त्यसको घोर भर्त्सना गरिएको छ।
ज्ञापनपत्र बुझाउन रन्जित कर्ण, भुपेन्द्रजंग शाही, सरोज थापा, दिपक भट्टराई, मनहरी श्रेष्ठ, युपी लामिछाने, रिता शाही, पुष्पकुमार शाही, शिव रिमाल, तिर्थ गौतम लगायतका युवा नेताहरू गएका थिए।
