५,५४७ कैदीबन्दी अझै फरार, खोजीमा प्रहरी
प्रतीकात्मक तस्बिर
काठमाडौँ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेकामध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार छन्।
कारागार व्यवस्थापन विभागले उनीहरूलाई कारागार फिर्ता ल्याउन खोजी अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ।
विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी मात्र कारागार फिर्ता भएका छन्।
आइतबारको गृहमन्त्रीस्तरीय बैठकले फरार कैदीबन्दीलाई पक्राउ गर्न केही महत्त्वपूर्ण निर्णयहरू गरेको विभागले स्पष्ट पारेको छ।
फरार कैदीबन्दीको सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत विभिन्न निकायहरूमा उपलब्ध गराइने भएको छ।
यी निकायहरूमा निर्वाचन आयोग, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभाग लगायतका सेवाग्राहीको आवागमन धेरै हुने कार्यालयहरू र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू समावेश छन्।
जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराएर कुनै पनि सार्वजनिक सेवा लिन आएको खण्डमा फरार कैदीबन्दीलाई पक्राउ गरिने जनाइएको छ।
फरार कैदीबन्दीको विवरण विभागको वेबसाइटमा समेत प्रकाशित गरिने भएको छ।
विभागले फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको जनाएको छ। यसबाट बाँकी रहेका हजारौं फरार कैदीबन्दीलाई चाँडै नै कानुनको दायरामा ल्याउने लक्ष्य राखिएको छ।
