कांग्रेसमा नेतृत्व परिवर्तनको चर्को बहस
काठमाडौँ। देशको परिवर्तित राजनीतिक परिस्थिति र जनचाहनासँगै प्रमुख राजनीतिक दलहरूभित्र नेतृत्व परिवर्तनको बहस चुलिएको छ। यसै क्रममा नेपाली कांग्रेसभित्र वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा जानुपर्ने आवाज सशक्त रूपमा उठ्न थालेको छ।
पछिल्लो पटक विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा चर्को बहस चलिरहेका बेला धेरै नेताहरूले वर्तमान कार्यसमितिलाई नै भङ्ग गरेर सानो र चुस्तदुरुस्त समिति मार्फत महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन्।
केसीको ‘समिति भङ्ग’ प्रस्ताव
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा शुक्रबार वरिष्ठ नेता बलबहादुर केसी ले देउवा नेतृत्वको सम्पूर्ण कार्यसमिति भङ्ग गर्ने प्रस्ताव राखे।
केसीले बैठकमा भनेका थिए, “वर्तमान कार्यसमितिले अहिलेको चुनौती समाधान गर्न नसक्ने भएकाले वडा तहदेखि केन्द्रसम्मका सबै कार्यसमिति भङ्ग गर्ने, सबै भ्रातृ संगठन भङ्ग गरेर सबैलाई स–सम्मान बिदाइ गरी उद्देश्य र समयावधि निर्धारण गरेर सबै पुस्तालाई समेटेर नयाँ तदर्थ समिति निर्माण गर्नुपर्छ।”
शशांकको सुझाव: विघटन गरी कार्यवाहक तोकौं
पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पनि वर्तमान कार्यसमिति भङ्ग गर्नुपर्ने कुरा सार्वजनिक रूपमै बताउँदै आएका छन्। शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले देउवालाई वर्तमान कार्यसमिति विघटन गरी कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिन र महाधिवेशनको मिति तय गर्न सुझाव दिएको जानकारी दिए।
“विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भनेँ— यो मेरो व्यक्तिगत विचार हो,” कोइरालाले भने, “मैले उहाँलाई तपाईं विघटन गर्नुस् भनेँ। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्छन् र उनले नै मिति तय गर्छन्।” उनका अनुसार यसो गर्दा आगामी मंसिरभित्र महाधिवेशनको मिति तय हुने वातावरण बन्नेछ।
युवा नेता रञ्जित कर्ण ले पनि मंसिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने भएमा वर्तमान केन्द्रीय कार्यसमिति भंग गर्नुपर्ने माग राख्दै आएका छन्। उनले ‘नेपाली कांग्रेसको अबको बाटो’ शीर्षकमा धारणा सार्वजनिक गर्दै “मंसिरभित्र नियमित महाधिवेशन गर या त समिति भङ्ग गर” भन्ने नारा अघि सारेका छन्।
पार्टीका अधिकांश नेताहरूले देउवाको नेतृत्वमा आगामी निर्वाचनमा जान नसकिने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी अगाडि बढ्नुपर्ने मत व्यक्त गरिरहेका बेला देउवाले तत्काल राजीनामा दिएर कार्यवाहक सभापति तोकी महाधिवेशनमा जानुपर्ने दबाब बढेको देखिन्छ।
