दशैँपछि खुलेको आकाश : आशाको नीलिमा

दशैँ सकिएपछि खुलेको सफा आकाश आशाको नीलिमा हो। अनवरत पानीको प्रवाहपछि थामिएको वर्षा, चाडपर्वको ठूलो ज्वारभाटा शान्त हुँदा मनमा एउटा अनौठो शान्ति छाउँछ। टीका र जमराको रङ्ग निधारबाट मेटिँदै जाँदा, यस पर्वको सबैभन्दा अविस्मरणीय उपहार त हाम्रो शिरमाथिको आकाशले दिन्छ- त्यो हो, दशैँपछि खुलेको सफा आकाश।

वर्षायामको बोझ बोकेको बादलको घुम्टो अब च्यातिएको छ। लामो समयसम्म धुम्मिएको क्षितिज एकाएक खुलेको छ। मानौँ, प्रकृतिको क्यानभासमा कसैले नवजीवनको नीलो रङ्ग छरिदिएको छ। त्यो नीलिमा यति चम्किलो र पारदर्शी छ कि, आँखाले टाढाका पर्वत शृङ्खलाहरूलाई पनि प्रस्ट देख्न सक्छ। ठीक त्यसरी नै, दशैँले मनभित्रका सबै कुण्ठा र विभेद पखालेर आत्मालाई शुद्ध बनाएको हुन्छ।

जीवनचक्रको प्रतिविम्ब

यो सफा आकाश केवल मौसमी परिवर्तन होइन, यो त हाम्रो जीवनचक्रकै प्रतिविम्ब हो। दशैँ आउनुअघि मनमा अनेक तयारीका चाप, खर्चको चिन्ता र भेटघाटको हतारो हुन्छ— ठीक त्यस्तै, मनसुनको आर्द्रताले आकाशलाई ढाकेको हुन्छ।

यद्यपि, शारदीय सौन्दर्यको घुम्टो ओडेर हरेक वर्ष असन्तुलित हुँदै आइरहेको पर्यावरणले समयमा पानी पार्दैन, हिउँदमा हिउँ पर्न सक्दैन। यसरी मौसम प्रतिकूल बन्दा पर्यावरणीय प्रभावले प्रकृतिलाई नराम्ररी असर पारेको छ। फलस्वरूप, फूल फुल्नुपर्ने बेलामा फुल्दैन; गर्मीमा हिउँदको जस्तै चिसो हुन्छ, र पानी पर्ने बेलामा प्रचण्ड घाम लाग्छ।

दशैँ आउँदा टीका थापिन्छ, आशीर्वाद लिइन्छ र खुसी साटिन्छ। यो पर्वले सबै अस्तव्यस्ततालाई प्रेम र सौहाद्र्रको सूत्रमा बाँधिदिन्छ। पर्वको समापनसँगै, मनको त्यो बादल पनि छरपस्ट हुन्छ। अब रहन्छ त केवल आशीर्वादको शीतलता र हर्षोल्लासको ऊर्जा। दशैँपछि खुलेको आकाशले यही सन्देश दिन्छ– सबै कोलाहल र उतार–चढावपछि अन्ततः जीवनमा एक स्निग्ध शान्ति आउँछ।

वर्षाको त्रास र पुनर्जागरण

यस वर्षको दशैँ भने बेमौसमी बर्सातको सम्भावित भयले त्रसित भयो। नभन्दै दशैँभरि झरी झरिरह्यो। खोला किनारका बस्ती डुबानमा परे, कतिले घर जान सकेनन्। कतिपय बल्लतल्ल दशैँ मान्न पुगेकाहरू बाढी पहिरोको प्रकोपका कारण सकुशल फर्किन सकेनन्। यात्रुहरू बीचबाटोमै अलपत्र परे। हरेक वर्ष बाढी र पहिरोले बाटो बगाउने र ज्यान गुमाउने कहालीलाग्दो अवस्था यस वर्ष पनि दोहोरियो।

यद्यपि, दशैँ सकिनुसँगै धुम्मिएको मौसम सुध्रिएको छ। दशैँपछि खुलेको आकाशले दुखेको आत्मालाई खुसी दिने कोसिस गर्दैछ। हुन त यो समय शरद ऋतुको अनुपम उपहार पनि हो। दशैँको बेला उडाइएका चङ्गाहरू यो सफा आकाशको सबैभन्दा कलात्मक दृश्य हुन्। रङ्गीन चङ्गाहरूले आकाशमा एउटा मौन कविता लेखिरहेका हुन्छन्— बाल्यकालको स्वच्छन्दता, युवावस्थाको उचाइ छुने सपना र प्रौढ उमेरको शान्त स्थिरता चङ्गाको धागो र आकाशको विशालतामा भेटिन्छ। वस्तुतः, चङ्गाजसरी हामीले पनि जीवनका हरेक बन्धनलाई तोडेर, उचाइ चुम्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दशैँपछिको नीलो आकाशले दिन्छ।

क्षमा र नयाँ सुरुआतको उद्घोष

सफा आकाशको मौनता निकै गहिरो हुन्छ। यसमा कुनै ध्वनि हुँदैन, तर यसले हजारौँ भावहरू बोकेको हुन्छ। यो मौनताले हामीलाई आगामी दिनको शुभ–सङ्कल्प गर्न प्रेरित गर्छ। टीका, जमरा र आशीर्वादको उत्साह लिएर अब हामी जीवनको अर्को चरणमा प्रवेश गर्न तयार हुन्छौँ।

अतः दशैँपछि खुलेको सफा आकाश आशाको नीलिमा हो। कालोमुस्लो बादलका थुप्रो र आँधीबेरीको आतङ्कलाई बढारिएको यस्तो सफा आकाश एउटा दर्शन हो, एउटा आश्वासन हो– हरेक अन्त्यले एउटा सुन्दर सुरुआत लिएर आउँछ। त्यहाँ सबै नयाँ, सफा, उन्नत र उज्ज्वल हुन्छन्।

बेमौसमको बाजामा मिठास नभएजस्तै थियो शारदीय यामको वर्षा। तर जब हिलाम्मे दशैँको उत्सव जसोतसो निख्रियो, मौसमले घुम्टो खोल्यो। भर्खर धोएको जस्तो निख्खुर सफा प्रकृति देखियो। सूर्यको पहिलो किरणले रुखका हाँगा र पात–पातमा टल्किएका पानीका थोपा सुनजस्तो चम्कायो। थकाइको, भिजाइको, प्रतीक्षाको सास पृथ्वीले बल्ल फेर्‍यो। बाढीले बगाएका र पहिरोले पुरिएका अस्तव्यस्त ज्यानहरू सुस्तरी जुर्मुराउँन थाले।

त्यसैले, झरीपछिको आकाश, आकाश होइन– त्यो एक उद्घोष हो, एउटा विश्वासको पुनर्जन्म हो। जस्तो जीवनका दुःख, आँसु, पीडाका लामो रातपछिको बिहानजस्तै, बाँच्ने रहर फिर्ता ल्याउने उज्यालोको मिर्मिरे किरणजस्तै।

बर्सातले थिचिएको पृथ्वीजस्तै कहिलेकाहीँ मन पनि निरन्तर दुखाइको भारीले थिचिन्छ। असन्तोषका धाराहरू बर्सिरहन्छन्। तर यस्तै एक दिन, अनायासै, कुनै सानो विश्वासको किरणले मनभित्रको बादल फाट्छ। अनि त्यो क्षण मनको पनि, आँखाको पनि स्वाट्ट आकाश खुल्छ।

पखालिएर, पुरिएर हराएका सारा सौन्दर्यमय मुस्कानहरू फेरि बौरिन थाल्छन्। उर्लिँदा नदीहरू शान्त र स्वच्छ देखिन्छन्। हिमाल र पहाडहरू झन् नजिकिएका हुन्छन्। गाउँघरहरूमा उज्यालोको आगमनसँगै घरका धुरीबाट अँगेनो पकाएको भात–भान्साको धुवाँ अकासिँदै निस्किन थाल्छ। यो दृश्य केवल प्रकृतिको पुनरुत्थान होइन, मान्छेको आत्माको पनि पुनर्जागरण हो।

अनि तब, हामी फेरि सम्झिन्छौँ– झरी र घाम, दुःख र सुख, आँसु र हाँसो– यी सबै जीवनका चक्र हुन्। जसरी बर्सातपछि खुल्ने आकाश सुन्दर लाग्छ, त्यसरी नै कठिनाइपछि आउने शान्ति पनि स्वर्गसरह आनन्ददायी हुन्छ। त्यो खुला आकाश हाम्रै मनको दर्पण हो।

दशैँका बेला आशीर्वाद दिने हातहरूजस्तै, यो आकाशले पनि आशीर्वाद दिइरहेको छ– ‘फर्क जीवन, अब तिमी सन्तुलित बन, सरल बन, उज्यालो बन।’ बर्सात, दशैँ र खुला आकाश यी तीन दृश्यहरू जीवनका तीन अध्यायजस्ता लाग्छन्– पहिलो पीडाको, दोस्रो उल्लासको र तेस्रो बोधको।

आजको यो निलो आकाश, सफा हावा र चम्किलो सूर्यले पुराना भिजाइहरूलाई ‘क्षमा गर, र नयाँ जीवनलाई आलिङ्गन देऊ’ भनिरहेको हुनसक्छ। किनभने, बर्सातपछिको आकाश र दशैँपछिको मौसम– दुवै जीवनको पुनर्जन्म हुन्। एकले धर्तीलाई शुद्ध पार्छ, अर्कोले मनलाई। र, यो सत्य हो– अन्धकार र झरीपछि, सधैँ उज्यालो आउँछ। रोएको जीवन हाँस्न थाल्छ, दशैँपछि खुलेको आकाशजस्तै!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *