ओलीको दाबी: सुशीला कार्की नेतृत्वको सरकार ‘नेपालीको होइन’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको सरकार नभएको दाबी गरेका छन्। उनले यो सरकार बलमिच्याइँले बनेको र संविधानसम्मत नभएको समेत आरोप लगाएका छन्।
बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एमाले जिल्ला कमिटीको कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार गठनको प्रक्रियामाथि कडा आलोचना गरे। उनले प्रधानमन्त्री (सुशीला कार्की) पदमा बस्नका लागि संसद् भंग गर्ने पूर्वसर्त राखेको र यसले ‘लोकतन्त्रको जग भत्काएको’ आरोप लगाए।
ओलीले प्रधानन्यायाधीश वा न्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न नमिल्ने संविधानमा रहेको उल्लेख गरे। राष्ट्रपतिले यो सरकारलाई चुनाव गराउने म्याण्डेट दिए पनि सरकार निर्वाचनको तयारीमा नलागेको उनको भनाइ छ।
ओलीले गृहमन्त्रीलाई नामै नलिएर ‘सम्हालिन’ र ‘राजनीतिलाई ख्यालठट्टा नठान्न’ चेतावनी दिए। व्यक्तिगत निशाना: उनले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गर्ने तयारी भएको भन्दै सरकारले सडकमा ‘तमासा’ गरिरहेको बताए।
आफ्नो पासपोर्ट रोक्का गरिएको र उपत्यका छाड्न नमिल्ने भनिए पनि सुशीला कार्कीको डरले आफू नभाग्ने उनले स्पष्ट पारे।
पूर्वप्रधानमन्त्री ओलीले ‘जेनजी’ नामका बालबालिका अगाडि सारेर पेट्रोल छ्याप्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि त्यस्ता कार्यहरू क्षम्य हुन नसक्ने चेतावनी दिएका छन्।
