कोशीका बाढी-पहिरो पीडितका लागि प्रदेश सरकारले घर पुनर्निर्माण गर्ने

विराटनगर। शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट विस्थापित भएका परिवारलाई कोशी प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने निर्णय गरेको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो। घर निर्माणको लागि प्रदेश सरकारले विपद् कोष र चालु आर्थिक वर्षका विभिन्न शीर्षकमा विनियोजन गरिएको बजेटलाई रकमान्तर गर्नेछ।

भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले दिएको जानकारी अनुसार, बैठकले प्रभावितहरूको घर पुनर्निर्माणसँगै क्षतिग्रस्त सडक सञ्जालको निर्माण गर्ने र प्रभावितहरूलाई राहत वितरणलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ।

मनसुनजन्य विपद्‌बाट कोशीमा सबैभन्दा बढी क्षति इलाम जिल्लामा पुगेको छ। प्रारम्भिक रिपोर्ट अनुसार इलाममा मात्रै १०६ वटा घर पुनर्निर्माण गर्नुपर्ने देखिएको मन्त्री राईले जानकारी दिए। अन्य जिल्लाहरूको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

विपद्‌का कारण इलाममा मात्रै ३९ जनाको मृत्यु भएको छ, भने झापामा पनि ठूलो क्षति भएको छ। परिषद् बैठकले इलाम जिल्लाका पहिरो प्रभावित सातवटा पालिकालाई संकटग्रस्त पालिका घोषणा गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ

राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिनका लागि प्रदेश सरकारले जिल्ला अनुसार मन्त्रीहरूलाई फोकल पर्सन तोकेको छ।

इलामका लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई फोकल पर्सन तोकिएको छ। यी तीन मन्त्रीको टोलीले घटनास्थलको निरीक्षण गरेर पुनर्निर्माणको योजना ल्याउनेछ।

सुनसरीका लागि वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै, झापाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई फोकल पर्सन तोकिएको छ।

परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *