इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग
काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग गरेका छन्। साथै, उनले नियमित हवाइ उडान सञ्चालन गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
बाढीपहिरोका कारण इलाममा ३९ जनाले ज्यान गुमाइसकेका छन्। जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको र सडक तथा विद्युत् अवरुद्ध हुँदा राहत कार्यमा चुनौती आएको नेम्वाङले जनाएका छन्।
नेम्वाङले जिल्ला विपद व्यवस्थापन समितिको सिफारिस समेतको आधारमा तत्काल इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन्।
उनले सडक अवरुद्ध भएकाले आवश्यक राहत सामग्री, औषधि ढुवानी गर्न फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाइ उडान सञ्चालन गर्न माग गरेका छन्।
सोही क्षेत्रका निवर्तमान जनप्रतिनिधि नेम्वाङले यस विषयमा हिजो सरकारका मन्त्रीहरूलाई समेत भेटेर ध्यानाकर्षण गराएका छन्।
गत शुक्रबार र शनिबार आएको बाढीपहिरोका कारण इलाममा ३९ जनाले ज्यान गुमाइसकेका छन्।
अविरल वर्षाका कारण व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ।
पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको छ।
