सूर्योदयको पहल : पीडित परिवारलाई तत्काल सहयोग

इलाम। असोज १८ गतेको भारी वर्षा र विपद्बाट ठूलो क्षति भएपछि सूर्योदय नगरपालिकाले प्रभावित परिवारलाई तत्काल राहत दिने निर्णय गरेको छ।

नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले विपद्को सामना गर्न १२ बुँदे निर्णय गरेको हो। नगरपालिकाले विशेषगरी पीडितहरूको व्यवस्थापन र तत्काल राहत वितरणमा जोड दिएको छ।

मृतक व्यक्तिहरूको पोष्टमार्टम तथा यातायात खर्च नगरपालिकाले व्यहोर्ने भएको छ। पीडित परिवारलाई सोमबार राहत रकम नगरकार्यपालिकाको कार्यालयमार्फत वितरण गरिने जनाइएको छ।

विस्थापित भएका परिवारहरूको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ। उनीहरूको पुनःस्थापनाका लागि आवश्यक सामग्री पनि सोमबारै वितरण गरिनेछ।

फिक्कल नगर अस्पतालमा घाइतेहरूको प्राथमिक उपचार निःशुल्क व्यवस्थापन गरिने भएको छ। विस्थापित परिवारका बालबालिकाका लागि पाठ्यपुस्तक तथा शैक्षिक सामग्री नगरपालिकाले उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

यसैगरी, खानेपानी तथा यातायातका क्षेत्रमा भएको क्षतिको तत्काल मर्मत गर्न समेत बैठकले निर्णय गरेको छ। बाढीबाट क्षति पुगेका खानेपानी आयोजनाको मर्मत र तत्काल आपूर्तिका लागि ट्याक्टरमार्फत पानी वितरण गरिनेछ।

श्रीखोला खानेपानी आयोजनाको मर्मत कार्य तुरुन्त प्रारम्भ गर्ने निर्णय गरिएको छ। नगरपालिकाका अनुसार अवरुद्ध सडकहरूलाई सुचारु गर्न आवश्यक पहल गरिनेछ।

राहत कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अन्य सम्बन्धित संस्थासँग समन्वयलाई प्रभावकारी बनाइने भएको छ।

नगरपालिकाले टोल विकास समिति तथा अन्य गठन भएका समूहहरूलाई विपद् व्यवस्थापनमा संलग्न हुन आह्वान गर्दै, नगरवासीहरूलाई सुरक्षित रहन र आवश्यक सहयोगका लागि नजिकको वडा कार्यालय वा नगरपालिकाको आपतकालिन सेवा केन्द्रको फोन ०२७-५४०५८३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *