कस्तो हुनेछ आइतबार र सोमबारको मौसम ?

काठमाडौँ। बङ्गालको खाडीबाट आएको मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा अझै तीन दिनसम्म अविरल वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति एक बुलेटिन जारी गर्दै विशेषगरी पूर्वी र मध्य नेपालका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज शनिबार राति- भारीदेखि धेरै भारी वर्षा: कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली भई मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेश र बागमतीका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा ‘धेरै भारी वर्षा’ हुने चेतावनी दिइएको छ। लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

आइतबार दिउँसो- वर्षाको निरन्तरता: कोशी, मधेश र बागमती प्रदेशमा पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा जारी रहनेछ। यी तीन प्रदेशका केही स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा पनि वर्षा हुनेछ।

आइतबार राति- देशका पहाडी भूभागमा साधारण बदली रही कोशी र बागमतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। सोमबारबाट भने वर्षाको तीव्रता केही कम हुने र मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ।

सोमबार दिउँसो: कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुनेछ। थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। सोमबार राति: देशका अधिकांश भूभागमा मौसम सुधार हुँदै जानेछ। कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागमा भने केही स्थानमा मध्यम वर्षाको सम्भावना रहन सक्छ।

आम नागरिकलाई सतर्क रहन आग्रह- महाशाखाले आगामी तीन दिनसम्म विशेषगरी पहाडी र तराई क्षेत्रका नदी, खोलानाला आसपासका बासिन्दालाई बाढी, पहिरो र डुबानको जोखिमबाट बच्नका लागि अत्यावश्यक काम नपरी यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *