दशैंको सुगन्धमा रमाएका ती दिन

मलाई अझै याद छ– मेरो बाल्यकालको त्यो घर, जसको भित्तामा कमेरोको सेतो उज्यालो थियो। बिहानै घाम चढ्दा त्यो घर चम्किन्थ्यो, मानौँ घरले नै सूर्यको अङ्गालो पाएको हो। त्यो दृश्य मेरो आँखामा मात्र होइन, हृदयमा पनि झल्किन्छ, किनकि त्यो घर मेरो जीवनको पहिलो आश्रय थियो।

भित्र पसेपछि देखिन्थ्यो– रातोमाटो र गोबरले लिपिएको अँगेनो। त्यही अँगेनोमा मेरी आमा बिहान सबेरै उठेर दाउरा बाल्थिन्। त्यो धुवाँ आँखा रसाउने गरी पिरो हुन्थ्यो। तर त्यसैमा पकाइएका भात-दालको बासनाले हाम्रो मनलाई तृप्त पार्थ्यो। हामी बच्चाहरू त्यो अँगेनो वरिपरि गोलबन्द भएर बस्थ्यौँ। कहिले भातको थालतिर हात बढाउँथ्यौँ, कहिले आमाको मुखबाट गुञ्जिएको गीत सुन्थ्यौँ।

बाजेले कहिलेकाहीँ अँगेनोको छेउमै पुराना कथा सुनाउनुहुन्थ्यो– कसरी गाउँलेहरू एकापसमा मिलेर खेतमा काम गर्थे, कसरी पहिले–पहिले वर्षा रोक्न पूजा हुन्थ्यो। ती कथा मात्र मनोरञ्जन थिएनन्, ती त जीवनका मूल्यहरू थिए– सामूहिकता, श्रमको सम्मान र प्रकृतिप्रतिको आस्था।

कमेरो र गोबरले मेरो जीवनलाई दर्शन सिकायो। कमेरोले शुद्धता र सरलता नै बाहिरी सौन्दर्य हो भन्ने कुरा सिकायो। गोबरले न्यानोपन र आफ्नोपन नै भित्री आत्मा हो भन्ने कुरा सिकायो। एउटाले बाहिरी चमक दिएको थियो, अर्कोले भित्री चेतना/स्पन्दन। आज मैले पछि फर्केर सोच्दा लाग्छ– त्यो सानो घर मेरो लागि विश्वविद्यालय थियो, जहाँ मैले जीवनको आधारभूत पाठ सिकें।

तर समयसँगै जीवन बदलियो। कंक्रिटका भित्ताहरूबीचमा बस्न थालेपछि त्यो कमेरोको सेतो चमक हरायो, अँगेनोको धुवाँ टाढा गयो। आज ग्यासको चुल्हो छ, सजिलो छ, सफा छ, तर आमाले लिपेको अँगेनोमा पाकेको भातको स्वादजस्तो छैन। आधुनिक भान्साले पेट भर्छ, तर मनलाई त्यति तृप्त पार्दैन।

यद्यपि, ती सम्झनाहरू मबाट हराएका छैनन्। कहिले गाउँ फर्किँदा अझै पनि कमेरो पोतेका घरहरू देख्दा मनमा चिरपरिचित आत्मीयता जाग्छ। गोबरले लिपिएको अँगेनो वरिपरि बच्चाहरू हाँसिरहेको देख्दा आफ्नै बाल्यकाल फेरि फर्किएझैँ लाग्छ।

त्यही कारण म भन्छु– कमेरो र गोबर अतीतका अवशेष होइनन्, ती त हाम्रो जीवनदर्शनका प्रतीक हुन्। ती सम्झनाले मलाई निरन्तर सम्झाइरहन्छ– जीवनको वास्तविक सौन्दर्य विलासीपनमा होइन, सादगीमा छ। घरको आत्मा सजावटी भित्तामा होइन, आफ्नोपनमा छ। संस्कृतिको धड्कन माटो र गोबरको सुगन्धमै जीवित हुन्छ। त्यसैमा नेपालीपन, पहिचान र संस्कृतिको विरासत पौराणिक कालदेखि अद्यावधि जीवित छ।

कमेरोले पोतेको घर देख्दा मनमा एउटा सादगीपूर्ण सौन्दर्य उर्लिन्छ। त्यो घर भव्यताले होइन, आफ्नोपनाले सुन्दर हुन्छ। सेतो कमेरोमा सूर्यको किरण पर्नासाथ त्यस घरले आकाशसँगै साक्षात्कार गर्छजस्तो लाग्छ। बाहिरबाट देख्दा सानो र साधारण, तर भित्र छिर्नासाथ जीवनको असली मर्मसँग साक्षात्कार हुन्छ।

अग्निको अडान रहने चुलो गोबरले लिपिएको हुन्छ। त्यसको सुगन्धले बिहानको चिया र साँझको भातलाई अझै आत्मीय बनाइदिन्छ। रातोमाटो र गोबरले लिपेको घरमा बस्दा न्यानोपन मात्र होइन, जीवनको चक्र, धरतीसँगको सम्बन्ध र आफ्नोपनप्रतिको गहिरो आदर झल्कन्छ। आज आधुनिक कंक्रिटका घरहरूले त्यो कमेरो पोताइलाई विस्थापित गरेका छन्। ग्याँस–स्टोभहरूले गोबर लिप्ने चलनलाई हटाएका छन्। तर सम्झनामा अझै पनि ती घरहरू आँखामा चम्किन्छन्। ती अँगेनाहरू नाकमा सुगन्धको मिठास जगाउँछन्। त्यही सम्झनाले हामीलाई फेरि हाम्रो माटोसँग, हाम्रो बाल्यकालसँग र हाम्रो संस्कृतिसँग गाँस्छ।

कमेरोले पोतेको घर र गोबरले लिपेको अँगेनो यी मात्र दृश्य होइनन्, यी त जीवनका सुगन्धित स्मृतिहरू हुन्। कमेरो र गोबरको सुगन्धमा घरको आत्मा झल्किन्थ्यो। कमेरोले पोतेको घर देख्दा हृदयमा सादगी र शुद्धताको एउटा अनुपम चित्र उभिन्थ्यो। त्यो घर भव्यताले होइन, आफ्नोपनाले चम्किन्थ्यो। बिहानको घामसँगै सेतो कमेरोमा सुनौलो उज्यालो छरिँदा लाग्थ्यो– घर आफैँलाई आकाशले माया गरेको हो, धरतीले चुमेको हो।

त्यस घरको भित्र छिर्नासाथ भेटिन्थ्यो– पारिवारिक प्रेमको मिठास। हार्दिकताको आभास। रातोमाटो र गोबरले लिपेको सिकुवा, दैलो, अँगेनो र चुलो। त्यो अँगेनो भान्साको मात्र स्थान थिएन, त्यो त जीवनको मुटु थियो। घरमा आमा र भाउजूको काम भनिसाध्य हुँदैनथ्यो। बिहान उठेदेखि कामको चाङ! बिहान झिसमिसेमै उठेर धाराबाट पानी ल्याएर गग्रेटोमा आमाले राखिसकेको हुन्थ्यो। चुलाचौकाको काम छँदै थियो। वस्तुभाउको गोबर सोहर्ने, खोले दिने, दूध दुहुने, घाँस लगाउने आदि। दैलो र अँगेनो लिप्ने काम पनि दैनिक तालिकामै हुन्थ्यो।

बाल्यकालमा त्यो अँगेनो वरिपरि बसेर खानु भनेको सामूहिक खानपानसँगै घरपरिवारको आत्मीयता अनुभव गर्नु हुन्थ्यो। कोदोको ढिडो, सिस्नुको झोल तरकारी पनि स्वादिष्ट भोजन लाग्थ्यो। आफ्नै कमाइको खोलेफाँडो नै सही, एकछाक खान पाउनु पनि सन्तोषको कुरा हुन्थ्यो। यसले ग्रामीण जीवनलाई आनन्दको निद्रामा मीठो सपना दिन्थ्यो।

त्यसमा माटोको सुगन्ध हुन्थ्यो र आफ्नोपनलाई आत्मामा भरिदिन्थ्यो। गोबरले लिप्दा वातावरण दुर्गन्धित पार्दैनथ्यो। बरु चोखो राखेर बाहिरबाट किराहरू आउन दिँदैनथ्यो। हामीलाई याद गराउँथ्यो– जीवनको आधार कुनै चम्किलो धातु होइन, धरतीकै कोमलतामा पाइन्छ।

कमेरो र गोबर यी दुई तत्व सौन्दर्यका साधन थिएनन्। घरका भित्ता पोत्न, भुइँ लिप्न यी हाम्रो संस्कृतिका रूपक पनि थिए। कमेरोले घरलाई उज्यालो दिन्थ्यो, मानौँ त्यो आशाको पोशाक हो। गोबरले अँगेनोलाई चोख्याउनेसँगै न्यानो बनाउँथ्यो, मानौँ यो धरतीले दिएको आशीर्वाद हो। एउटाले बाहिरी आवरणलाई पवित्र तुल्याउँथ्यो, अर्कोले घरको भित्री आत्मालाई सुरक्षित राखेर सुन्दर बनाउँथ्यो।

आज कंक्रिटका भित्तामा त्यस्तो आत्मा छैन, ग्याँसका चुल्होमा त्यस्तो न्यानोपन छैन। आधुनिक जीवनले हामीलाई सजिलो त दिएको छ, तर त्यो सजिलोमा स्मृतिको मिठास छैन। पहिले र अहिलेको दशैं–परम्परा फेरिइसकेको छ। पहिलेको जस्तो असुविधा छैन। सुविधाले धेरै सहज बनाएको छ। तथापि ती दिन पुस्तौँको स्मृति बनेर मात्रै बाँकी छन्। हाम्रो संस्कृतिको जीवित प्रतीक बनेर अझै बोलिरहेछन्– सादगीमै भव्यता छ, माटोमै जीवनको आत्मा छ, आफ्नोपनमै घरको पूर्णता छ।

दशैंको सुगन्धमा मेरो जीवन आज शोकमा पनि उत्सव मनाउँदैछ। निराशा फाल्दै आशा उमार्दै बाँच्नु नै जीवन बनेको छ। देशले सत्ता परिवर्तनको नयाँ जीवन पाउँदा पनि खरानीमा खण्डहर अवस्थाले मन र मुटु टुक्रिन्छ। परन्तु त्यही शोकलाई शक्तिमा रूपान्तरण गरी दशैंको मैजारो हुँदैछ। म यतिबेला मेरा व्यतीत कालखण्डका सुन्दर, सुमधुर क्षणहरूलाई सम्झिँदै तिनकै सुगन्धमा कृतज्ञता ज्ञापन गरिरहेको छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *