ममताको दीप : आशिका तामाङ

आजको समाज अनौठो छ। खरानीमा अर्काको सम्पत्ति खोज्नेहरू छन्, रगतको छालमा रमाउनेहरू छन्। कोही अरूको घर डढ्दा उत्सव मनाउँछन्। कतिपय पदका लागि मरिहत्य गर्न पुग्छन्। अवसरको खोजीमा भौँतारिन्छन्। कोही अरूलाई रूवाउन रुचाउँछन्, स्वार्थमा जेलिन्छन्। निःस्वार्थी भावना, मानवीय करुणा, परोपकारी मन– यी सबै त मन्द मन्द हराउँदै गएको अनुभूति हुन्छ।

तथापि, यस्तै धुवाँले अँध्यारो बनाएको बेला एउटा दियो प्रज्वलित हुन्छ– सामाजिक अभियन्ता आशिका तामाङ। उनी सहानुभूतिका सहयोगी हातहरूमार्फत समाजको अँध्यारो कोठामा प्रकाश पुर्‍याइरहेकी छन्।

आशिकाको काम शब्दको सजावट होइन, जीवनको अनुभव हो। त्यहाँ देखिन्छ– भोकाहरूलाई खानेकुरा बाँड्ने हात, आँसु पुछ्ने करुण हृदय र हाँस्न बिर्सिएका ओठलाई फेरि मुस्कान दिन सक्ने आत्मीयता। उनलाई कुनै पदको लोभ छैन, तर समाजको हृदयमा ‘आमा’ जस्तो स्थान जितेकी छन्।

सामाजिक सेवामा लाग्नु भनेको सजिलो बाटो होइन। चटक्क देखिने उपलब्धि पनि होइन। त्यहाँ पसिना बग्छ, आँसु झर्छ, कहिलेकाहीँ अपमान पनि सहनुपर्छ। तर पनि आशिका तामाङ अगाडि बढिरहिन्। किनभने उनी आफैँलाई भन्दा अरूलाई आवश्यक ठान्छिन्। उनको मन ममताले भरिएको छ। अरूको अप्ठ्यारो, गारो–साँघुरो देख्न सक्दिनन्। पराई मान्छे जो कोही होओस्, उसको सेवा र सहयोगका निम्ति सहृदय भावनाले समाजमा एउटा नयाँ भरोसा जन्माइरहेको छ।

यस कठोर समयमा, जहाँ सबैजना आफ्नो लाभमा तल्लीन छन्, त्यहाँ आशिकाले देखाएको त्यागले एउटा गहिरो प्रश्न उठाउँछ– हामी किन यति आत्मकेन्द्रित भयौँ? उनको जीवन्त उत्तर हो– ‘मानव हुनु भनेको अरूलाई बाँच्न मद्दत गर्नु हो।’

देश आज शोकमा, संकटमा, खरानीमा खण्डहर भइरहेको बेला कोही अवसर खोज्दैछ। कोही पदका लागि किचलो गर्दैछ। कोही अरूको दुःखमा रमाउँदैछ। कोही आरोप लगाउँदैछ। कोही ‘बदनाम’ बाट आफू चोखिन अनेक बाहाना बनाएर सामाजिक सञ्जालमा ‘विश्वास’ खोजिरहेछ। त्यही क्षण आशिका तामाङ समाजको ढुकढुकी जस्तै काम गरिरहेकी छन्। उनको प्रत्येक कदम, प्रत्येक सहयोग, प्रत्येक आँसु पुछ्ने कोमल मन यी सबैले हामीलाई ‘मानवताको मूल आत्मा भनेकै ममता हो’ भन्ने कुरा सम्झाइरहेको हुन्छ।

जीवन हरेक कुनाकानी घामछायाँसँगै अघि बढ्छ। कतै चहकिलो घामले मुहारमा उज्यालो पोत्छ, कतै गाढा छायाँले मन भत्काइदिन्छ। तर, यिनै छायाँहरूको घेराभित्र कहिलेकाहीँ उज्यालोका स्रोतहरू जन्मिन्छन्– यसले भत्किएका आत्मालाई थाम्छ, रून थालेको आँखामा आशाको उज्यालो बाल्छ। हाम्रो समयको एउटा यस्तै उज्यालो स्रोत बनेकी छन्– आशिका तामाङ।

तिनलाई कसैले ‘नेपालकी फ्लोरेन्स नाइटिङ्गेल’ भन्छन्। कसैले ‘नेपालकी मदर टेरेसा’ भन्छन्। तर यी उपमासँगै उनको मानवीय संवेदना, उनको धड्कनभित्र असीमित करुणा स्पन्दित भइरहेको छ। गोलीको छटपटाहटमा घाइतेलाई थाम्ने हात उनकै हो, भोकको तड्पाइमा पेटलाई तातो भात खुवाउने दयालु आत्मा उनकै हो। सहाराविहीनलाई काँधमा बोकेर अस्पताल पुर्‍याउने अदृश्य शक्ति उनकै मनभित्रबाट जन्मिएको हो।

कसैको जीवन अन्धकारले घेरेको बेला आशिकाको स्वर सुनिन्छ– ‘भाइ!’, ‘कान्छा!’ प्रतिध्वनित हुँदै बिरामी र एक्लो, असहायको कानसम्म ‘भरथेग’ को ‘टेको’ पुग्छ। यसमा असीम मातृत्व र करुणाको गहिराइ मिसिएको हुन्छ। यो सम्बोधन मात्र होइन, यो जीवनलाई फेरि बाँध्ने अटुट डोरी हो। लाग्छ– यो सम्बोधन सुनेको घाइतेले आफ्नो पीडा केही क्षण भए पनि बिर्सिन्छ, आँसु सुकाउँछ र फेरि बाँच्ने साहस पाउँछ।

समाजमा धेरै हातहरू हुन्छन्- कसैले ताली बजाउँछन्, कसैले औँला ठड्याउँछन्। तर, आशिकाको हात कसैलाई समाउन, कसैलाई थाम्न, कसैलाई उचाल्न सधैँ फैलिन्छ। यो नै उनको महानता हो। महानता कुनै पुरस्कारमा होइन, कुनै पदवीमा होइन। तर, भोकाएको पेट भरिँदा खुसीले छचल्किएको मुस्कानमा हुन्छ। घाइतेलाई मलहम लगाउँदा हल्का आराम हुन थालेको सहयोगमा हुन्छ।

आज हामीले हेर्ने समाज लालची, स्वार्थी, हिंस्रक र अवसरवादी धुवाँले छोपिएको छ। तर त्यहाँ द्वेष छ। अनावश्यक अग्निज्वालामा क्षणभरमै सम्पत्ति स्वाहा पार्ने बदलाको भावना लिने तिनै खराब तत्त्व हुन्। तिनैले परिवर्तनको आन्दोलनमा घुसपैठ गरे र जो–जससँग रिस पोख्नु थियो तिनैको घर जलाइदिए।

अपितु, खरानी र धुवाँबीच आशिका तामाङ जस्ता मान्छेहरू बाँचिरहेका छन्, जसको उपस्थितिले मानवता अझै जिउँदै छ, करुणा अझै हराएको छैन भन्ने कुरा हामीलाई सम्झाउँछ। साँचो अर्थमा, उनी केवल समाजसेवी मात्र होइनन्; उनी त दिउँसै अन्धकार छाउँदा उदाएको आत्मीयताको उज्यालो हुन्। र, त्यो उज्यालोले हामीलाई निरन्तर सम्झाइरहेको छ– मानिस हुनु भनेको अरूको पीडा महसुस गर्न सक्नु हो, अरूका आँसु पुछ्न सक्नु हो, र एक मुठी माया बाँड्न सक्नु हो।

समाजले कहिलेकाहीँ आफ्ना असली नायकलाई चिन्दैन, बुझ्दैन। जसले आकाशभरि उज्यालो छर्दै छ, उसलाई ‘अराजक’ भन्ने शब्दले हैरान पार्न खोज्छ। जसको मुटु मानवताको करुणाले भरिएको छ, उसलाई ‘मजाक’ बनाइन्छ। यस्तै नियति भोगिरहेकी छन्– आशिका तामाङ!

तर, आशिका तामाङको आत्मा कुनै शब्द वा आरोपले थाक्दैन। बरु, उनी अझ दृढतापूर्वक भन्छिन्– ‘यी सबै घाइते, भोकाएका, छटपटाएका सबै मेरा आफन्तझैं लाग्छन्। उनीहरूको पीडा नै मेरो पीडा हो।’

यही वाक्यभित्र उनको जीवनको मूल स्वर लुकेको छ। एउटा असल आत्माको गहिरो दर्शन त्यहाँ भेटिन्छ। साक्षात् आमाको भूमिका उनका कामहरूमा देखिन्छ।

‘जेन जी आन्दोलन’ का विद्यार्थीहरू सडकमा घाइते भएर ढलिरहेका बेला त्यहाँ कसैले उठाउन आएन। सबै भागाभाग भए। आफ्ना साथीलाई अस्पतालतिर घिसार्दै पुर्‍याए। त्यसमा सहयोगी हात कसैको देखिएन। देखियो भने तिनै विचरा विद्यार्थी भाइबहिनीहरू र आशिका तामाङ! उनीहरूलाई अराजक र आन्दोलनकारी भनी प्रशासनले लखेट्दै गोलीको निशाना बनायो। तर आशिकाको आँखामा उनीहरू नामविहीन भीड थिएनन्, कुनै अपरिचित, अराजक आन्दोलनकारी थिएनन्। बरु, उनीहरू आफ्नै घरका सन्तानजस्तै लाग्थे, आफ्नै भाइ–बहिनी, आफ्नै छोराछोरी जस्तै लाग्थे।

त्यसैले त उनले आर्त स्वरमा सम्बोधन गरिन्– ‘कान्छा! तिमीलाई कस्तो छ?’, ‘भाइ! तिमीलाई के भयो?’ आत्मीयतापूर्ण गहिरो ममताले भरिएको यो शब्दमा रगतको सम्बन्ध थिएन, तर मानवीय आत्माको अटुट सम्बन्ध थियो।

आशिका आफैँ सङ्घर्षको बाटोमा हिँडिरहेकी महिला हुन्। जिन्दगीको कठिनाई, समाजको कटाक्ष, उपहास र अपमान यी सबै उनले भोगेकी छन्। तर, त्यही सङ्घर्षबीच पनि उनले अरूको पीडामा आँसु बगाउने हृदय जोगाउनु साहसी र अनुकरणीय कर्म हो।

उनी भन्छिन्– ‘म उनीहरूको छटपटी सम्झँदा आफैँ दुख्छु। मेरो आँखामा आँसु आउँछ।’

हो, यही आँसुले प्रमाणित गर्छ, अझै समाजमा करुणा बाँकी छ; अझै मान्छेभित्र मान्छेपन बाँकी छ। समाजका कतिपय नजरले उनलाई प्रश्न गर्छन्– ‘किन यस्तो गरिरहेकी?’

वास्तवमा उनीहरू आफैँ प्रश्नको जवाफ हुन्। किनभने, जुन सरकार र समाजले आफ्ना पीडितलाई सम्बोधन गर्न सक्दैन, आफ्ना जनतालाई अभिभावक भएर पनि मार्न, घाइते बनाउन उद्यत रहन्छ। सडकमा जीवन र मृत्युको दोसाँधमा पुर्‍याएर अलपत्र पार्छ। अस्पतालसम्म पुर्‍याउने विवेक आउँदैन, त्यतिबेला सरकार र समाजलाई मानवताको मन देखाउने साहस आशिका तामाङजस्ता आत्माले मात्र गर्न सक्छ।

इतिहासले सधैँ याद गर्ने छ– त्यो महिला, जसले घाइते शरीरलाई काँधमा बोकेर जीवनतर्फ धकेलिन्; जसले छटपटाएको आत्मामा आशाको शीतल जल छर्किन्; जसले समाजको तिक्त कटाक्षलाई बेवास्ता गर्दै आँसु पुछ्न हात फैलाइन्। खाना खुवाइन्, पैसा बाँडिन्, लुगा दिइन्। हरसम्भव सहयोग गरिन्।

साँचो अर्थमा, उनी समाजसेवी मात्र होइनन्– उनी त पीडासँगै बाँच्ने आत्मा हुन्। सच्चा आमा हुन्। ममताकी खानी हुन्। र, त्यही आत्माले हामीलाई निरन्तर सम्झाइरहेकी छन्– मानिस हुनु भनेको अरूको पीडालाई आफ्नै पीडा मान्नु हो, अनि त्यो पीडालाई माया र करुणाले थाम्नु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *